नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको निर्वाचनका लागि संस्थापन इतर (शेखर कोइराला) पक्षले सम्पर्क कार्यालय स्थापना गरेको छ । बाँकेमा यही पुस २७ गते जिल्लाको निर्वाचन हुदैछ । संस्थापन इतरबाट जिल्ला सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेलको प्यानलले शुक्रबार नेपालगन्जमा सम्पर्क कार्यालय स्थापना गरेको हो ।
नेपालगन्जको सुर्खेतरोड स्थित मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको पुर्वतर्फ उक्त पक्षले कार्यालय स्थापना गरेको हो । उक्त कार्यालयको उद्घाटन नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले गरिन् । सम्पर्क कार्यालय उद्घाटन गर्दै सभापति कोइरालाले गौडेलको नेतृत्वमा रहेको प्यानल सशक्त, जुझारु र उर्जाशील रहेको बताइन् ।
उनले गौडेलको प्यानललाई जिताएर पार्टीलाई बलियो बनाउने प्रयासमा लाग्न सबैलाई आग्रह गरिन् । यस्तै सभापति पदका उम्मेदवार गौडेलले पार्टीलाई सशक्त बनाउन आफु निर्वाचित हुन जरुरी रहेको बताए । आफ्नो टिम निर्वाचित भएपछि पार्टीलाई सशक्त ढंगले अगाडी बढाउने प्रतिवद्धता ब्यक्त गरे ।
सो क्रममा संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी भोला, जिल्ला सचिव तप्त पौडेल, जिल्ला सचिव पदका उम्मेदवार सुधांशु कोइराला, नेता हुर्मत न्यौपाने, लुम्बिनी प्रदेश सदस्य प्रेम केसी, इशाक जोलाह, अन्जना पाण्डे, दिक्षा कोइराला, प्रमेश्वरी पाठक, कृष्णा सापकोटा चौधरी, प्रदेश सभा १ ख का सभापति बलराम शर्मा, कोहलपुर नगर सभापति विरेन्द्र शाह, लगायतको उपस्थिती रहेको थियो ।