नेपालगन्ज : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेप्रति जनलहर बढेको बताएका छन् । नरैनापुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेप्रति जनलहर बढेका कारण आफ्नो पार्टीमाथी चौतर्फी रुपमा घेराबन्दी भइरहेको जिकिर गरे । उनले एमालेलाई रोक्नकै लागि गठबन्धन र घेराबन्दी भएको पनि बताए ।
‘एमालेलाई जनताले रुचाएका कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको छ,’ उनले भने । एमालेसँग चुनाव लड्न अन्य दलहरु डराइरहेको महासचिव पोखरेलको आरोप छ । ‘एक्लै चुनाव जितिदैन भनेर उनीहरु डराइरहेका छन्, त्यसकारण गठबन्धन गरेका हुन्,’ उनले भने ।
एमाले पार्टीविरुद्ध घेराबन्दी र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको लुम्बिनी प्रदेशका पुर्वमुख्यमन्त्री समेत रहेका पोखरेलले बताए । एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामबाट डराएर गठबन्धन भएकोे उनको जिकिर छ । एमाले पार्टी देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा रहेको नेता पोखरेलले बताए ।
सो क्रममा महासचिव पोखरेलले नरैनापुरका रामकुमार दिक्षित लगायतलाई एमाले पार्टीमा प्रवेश गराएका थिए । अधिवक्ता समेत रहेका दिक्षित यसअघि जनता समाजवादी पार्टी (जसपा) मा आवद्ध रहेका थिए । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर ठुलो संख्यामा एमालेमा प्रवेश गरेको उक्त पार्टीले दाबी गरेको छ ।
एमाले बाँकेका अध्यक्ष निरक गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेताहरु सुर्य ढकाल, मोहम्मद हारुन, पशुपति दयाल मिश्र, दिपा शर्मा, शान्ति ढकाल लगायतको उपस्थिती रहेको थियो ।