महेन्द्रनगर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा जलपक्षी गणना सुरुआत गरिएको छ । निकुञ्जभित्र र बाहिरी क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो ।
गणना अगामी माघ २ गतेसम्म जारी रहने छ । यसका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण संघका विज्ञहरु, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एशोसिएशनका प्रतिनिधिलगायतको सहभागिता छ । गणनामा संलग्नले वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरिएको संघका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिए ।
स्थलगतरूपमा पुगेर र कुनै ठाउँमा डुङ्गालगायतमा चढेरसमेत जलपक्षी गणना हुने उनले बताए । उनका अनुसार रानीताल, ताराताल, कालीकिच ताल, बेदकोट, बन्दाताल, पुरैनीताल, प्याराताल, स्याली नदी, चौधर नदी र सीमसार क्षेत्रमा जलपक्षी गणना हुनेछ ।
अरु ताल र नदीमा पैदल हिँडेरै गणना हुने भए पनि निकुञ्जभित्रको सलगौँडी तालमा भने हात्तीमा चढेर गणना हुनेछ । यस वर्ष कुन–कुन चरा देखिए यसबारे समेत रेकर्ड राखिने जनाएको छ । यससँगै सिमसार क्षेत्रको अवस्था, तालमाथिको मानवीय अतिक्रमण प्राकृतिक रूपमा भएको क्षतिबारेसमेत जानकारी लिइने उनले बताए ।
गत वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका तालतलैयामा जलपक्षी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत ४८ प्रजाति देखापरेका थिए । तालतलैयामा जलपक्षीको संख्या एकिन गर्ने कार्यसँगै सिमसारको अवस्थाबारेमा समेत अध्ययन हुने विज्ञ डगौराले बताए । रासस