नेपालगन्ज : आसन्न निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय बाँकेले सञ्चालन गरेको एक महिने ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम’ आइतबार सकिएको छ । मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका मतदातालाई लक्षित गरेर कार्यालयले जिल्लाका सबै स्थानीय तहका केन्द्रमा १५ दिनसम्म कर्मचारी टोली खटाएको थियो ।
कार्यालयले दर्ता स्थल कायम गरी गत मंसिर ३ मा स्वीकृत 'मतदाता नामावली संकलन विशेष कार्यक्रम-२०७८' को मापदण्ड बमोजिम कर्मचारी टोली परिचालन गरेको हो । कार्यालयले पहिलो चरणमा खजुरा, नरैनापुर र बैजनाथ गाउँपालिका गत मंसिर १७ देखि पुस २ गते सम्म तथा दोस्रो चरणमा डुडुवा, राप्तीसोनारी र जानकी गाउँपालिकामा पुस ४ गतेदेखि पुस १८ सम्म दर्ता टोली खटाएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाको हकमा भने कार्यालयले जिल्ला प्रशासन र जिल्ला निर्वाचन तथा कोहलपुर नगरपालिकाको हकमा इलाका प्रशासन कार्यालय कोहलपुरबाट नामावली संकलनको काम गरेको थियो । उक्त समय अवधिभर मतादाता नामावलीमा नाम दर्ता गर्न छुट भएका ब्यक्तिहरु ठुलो संख्यामा पुगेर आफ्नो नाम दर्ता गराएको कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका मतदातालाई लक्षित गरेर बाँकेका ८ वटै स्थानीय तहका नागरिकलाई समेटेर एक महिनासम्म मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिएको बताए । ‘कर्मचारीलाई स्थलगत रुपमै खटाएर हामीले एक महिनासम्म विशेष कार्यक्रम सञ्चालन गर्यौं, अझै पनि कोही मतदाता नामावली दर्ता गराउनबाट छुट्नु भएको छ भने निर्वाचन कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ,’ दूरसञ्चार डटकमसँग उनले भने ।
विशेष कार्यक्रम सञ्चालन गरिसकेपछि कति जनाले मतदाता नामावलीमा नाम दर्ता गराए भन्नेबारे एकिन विवरण चाडै सार्वजनिक गर्ने कार्यालयले जनाएको छ । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा नगर्दासम्म निर्वाचन कार्यालयबाट उक्त कार्य नियमित रुपमा सञ्चालन हुने प्रमुख सुवेदीले जानकारी दिए ।