नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको यही पुस २७ गते हुन लागेको जिल्ला निर्वाचनको सरगर्मी बढिरहेको छ । निर्वाचनका लागि विभिन्न प्यानलले आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । यसैक्रममा कांग्रेसको संस्थापन इतर (शेखर कोइराला) पक्षले सोमबार एक कार्यक्रमका बीच सभापति सहित पदाधिकारीका उम्मेदवार घोषणा गरेको हो ।
कांग्रेस बाँकेको सभा हलमा आयोजित कार्यक्रममा उक्त पक्षले सभापतिमा नारायणप्रसाद गौडेलप्रसाद गौडेल, उप-सभापतिमा गोपाल अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले 'आशिष' तथा सह-सचिवमा विश्वराज लम्साल र रेणु सिंहको नाम औपचारिक रुपमा सार्वजनिक गरेको हो ।
गौडेल प्यानलका प्रचार प्रसार समिति संयोजक समेत रहेका लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेकनारायण भुषालले उम्मेदवारको नाम सार्वजनिक गरेका थिए । उक्त प्यानलले जिल्ला कार्यसमिति सदस्य उम्मेदवारको नाम भने २५ गते चियापान कार्यक्रम गरेर सार्वजनिक गर्ने जानकारी दिएको छ ।
उक्त प्यानलले यि उम्मेदवारको नाम केही दिन अघि नै टुंगो लगाइसकेको थियो । सभापति पदका उम्मेदवार गौडेलले एक महिनादेखी नै प्रचार–प्रचार गर्दै आएका थिए । उक्त प्यानलबाट सभापति पदमा गौडेल उम्मेदवार बनेका हुन् । संस्थापन(शेरबहादुर देउवा) पक्षले भने अहिलेसम्म आफ्नो आधिकारिक उम्मेदवार बनाउन सकेको छैन ।
उक्त पक्षबाट सुरेन्द्र हमाल, निरन्जनसिंह सिजापति, बादशाह कुर्मी, राजकुमार बर्मा, सुनिलनरसिंह राणा र लक्ष्मी नारायण शाहले आकांक्षा देखाएका छन् । ती मध्ये हमाल, सिजापति र कुर्मी मुख्य आकांक्षी हुन् । संस्थापन इतर पक्षको उम्मेदवार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पदका उम्मेदवार गौडेलले आफ्नो प्यानल निर्वाचित भएपछि जिल्लाभरी छरिएर रहेका तमाम द्धन्द्ध पीडितलाई कांग्रेसमा जोड्ने बताए । आफ्नो प्यानल निर्वाचित भएपछि पार्टीसँग किसान, तरुण, बिद्यार्थी, ब्यापारी, मजदुर, सबैको प्रतिनिधित्व हुने दाबी गरे ।
‘सबैको दुःख पीडालाई बुझेर हामी काम गर्नेछौं, स्थानीय तथा केन्द्रिय निर्वाचनमा बाँके जिल्लाको तीनै क्षेत्रमा कांग्रेसको चारतारे झण्डा फरफराउनेछौं,’ उनले भने । कांग्रेसभित्र घात-अन्तरघात गर्ने कसैलाई पनि आफुले बाँकी नराख्ने र पहिलो निर्णयबाटै अनुशासन समिति बनाउने प्रतिवद्धता जनाए ।
घोषणा कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य प्रमुख र कांग्रेस बाँकेका सभापति किरण कोइराला विशिष्ट अतिथी थिइन् । कार्यक्रममा कांग्रेस बाँकेका सचिव तप्त पौडेल, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर लगायत उपस्थित भएका थिए ।
भिडियो हेर्नुस् :