नेपालगन्ज : नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भइन, चर्चित महिला नेतृ अञ्जना चौधरी । महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्दा उनी थारु कलस्टरबाट केन्द्रीय सदस्य भएकी हुन् ।
माओबादी पार्टीमा नेतृ अञ्जनाको योगदान कम छैन । पार्टीमा उनको राजनीतिक जीवन संघर्षमय बनेको छ । पार्टीमा गरेको योगदानको कदर स्वरुप उनी २०७० सालमा संविधान सभाको समानुपातिक सदस्य भएकी थिइन् ।
नेतृ अञ्जना २०५३ सालमा पार्टीमा संगठित भएर लागेकी हुन् । उनी २०५४ सालमा एरिया, २०५६ सालमा जिल्ला र २०५९ सालमा अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कोषाध्यक्ष भएकी थिइन् । २०५६ सालबाट माओबादी द्धन्द्धका क्रममा उनले भुमिगत जीवन सुरु गरेकी थिइन् । यस्तै २०५९ सालदेखी अखिल नेपाल महिला संघ बाँके र बर्दियाको सचिव भएर काम गरिन् ।
त्यसपछि २०६० देखी २०६२ सालसम्म अखिल नेपाल महिला संघ बाँके र बर्दियाको अध्यक्ष भइन् । हाल अनेम संघ केन्द्रीय सचिवालय सदस्य छिन् । उनी २०५७ सालमा पार्टीको सदस्य भईन् । २०६० सालदेखी नेकपा (माओवादी) को जिल्ला सदस्य, २०६१ मा सचिवालय, २०६२ सालमा जनमुक्ती सेना, २०६४ मा थारुवान राज्य सदस्य, २०७३ मा केन्द्रीय सदस्य र बाँके सह-संयोजक, २०७० सालमा संविधान सभा सदस्य भएकी थिइन् ।
यसैगरी उनी थारु राष्ट्रिय मुक्ती मोर्चा नेपालको केन्द्रीय कोषाध्यक्ष भइसकेकी छन् । राजनीतिमा मात्र नभएर सामाजिक संस्थामा पनि नेतृ अञ्जनाको सहभागिता र योगदान उत्तिकै छ । राजनीतिक शास्त्रबाट स्नात्तकोत्तर तह उर्तीण गरेकी उनी कानुन विषयमा एलएलबी समेत अध्ययन गरेकी छन् ।
बर्दियामा जन्मिएपनि उनले बाँकेलाई नै कर्मभुमी बनाएकी छन् । उनले पार्टीमा निरन्तर रुपले गरेको योगदानको कदर स्वरुप केन्द्रीय सदस्यको जिम्मेवारी पाएकी हुन् । केन्द्रिय सदस्यमा निर्वाचित भइसकेपछि पार्टीलाई नयाँ किसिमले उर्जा दिने उनी बताउँछिन् । ‘पार्टीले मलाई दिएको जिम्मेवारी मैले इमान्दारीपुर्वक पुरा गर्नेछु,’ उनले दूरसञ्चार डटकमसँग भनिन् ‘पार्टी निर्माणमै मेरो ध्यान केन्द्रित हुनेछ ।’
यो पनि पढ्नुस् :
माओवादी केन्द्रको केन्द्रिय सदस्यमा बाँकेका तीन जना निर्वाचित