- संस्थापनका दुई तिहाई मतदाता, गौडेल प्यानल संस्थापनको मत चोर्ने रणनीतिमा
- पदाधिकारीको एउटै प्यानल बनाउन संस्थापनका अधिकांस कार्यकार्यकर्ताको माग
- जिल्ला सचिवमा सबैबाट रुचाइए ओली
नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको आसन्न निर्वाचनका लागि संस्थापन इतर पक्षले प्रचार–प्रसार तिब्र पारेको छ । यही पुस २७ गतेका लागि तोकिएको जिल्ला निर्वाचन राष्ट्रिय सभाको निर्वाचनका कारण कांग्रेसको केन्द्रिय निर्वाचन समितिले आगामी माघ १५ गतेका लागि सारिसकेको छ ।
पदाधिकारीको प्यानल घोषणा गरिसकेको संस्थापन इतर (शेखर कोइराला) पक्षका नारायण गौडेल नेतृत्वको समुहले प्रचार प्रसार कार्यलाई निरन्तरता दिइरहेको छ । उक्त प्यानलका उम्मेदवार विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाट कार्यलाई जारी राखेका छन् । प्यानलका उम्मेदवारहरु मतदाता भेटघाटमा ब्यस्त छन् ।
उनीहरु जिल्लाका तीन वटै क्षेत्रमा पुगेर मतदाता भेटघाट गरिरहेका छन् । उक्त प्यानलबाट उपसभापतिमा गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधान्सु कोइराला र टंकप्रसाद काफ्ले आशिष, सहसचिवमा विश्वराज लम्साल र रेणु सिंह चुनावी मैदानमा उत्रिएका छन् । सो प्यानलले सदस्य उम्मेदवारको भने टुंगो लगाएको छैन । ‘हामी मतदाता भेटघाटमै ब्यस्त छौं, हाम्रा प्यानलका उम्मेदवारलाई मतदाताले निकै राम्रो रेसपोन्स गरिरहनु भएको छ,’ उपसभापतिका उम्मेदवार अधिकारीले भने ।
गौडेल प्यानल प्रचार-प्रसारमा जुटिरहँदा संस्थापन (शेरबहादुर देउवा) पक्षलाई भने प्यानल बनाउनै सकस परिरहेको छ । उक्त पक्षबाट सभापति पदमा ६ जना आकांक्षी छन् । आकांक्षीहरुबीच सहमती हुन नसक्दा प्यानल बनाउन सकस परिरहेको संस्थापन पक्षका नेताहरु बताउँछन् । निर्वाचन पछाडी धकेलिदाँ उक्त पक्षलाई थोरै राहत भएपनि उम्मेदवार छनोट गर्न अझै अलमलमै देखिन्छन् ।
संस्थापन पक्षका उम्मेदवारलाई मिलाउन पार्टीका सह-महामन्त्री किशोरसिंह राठौंर, केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी लगायत नेताहरु सक्रिय भइरहेका छन् । संस्थापन पक्षबाट सभापति पदमा सुरेन्द्र हमाल, निरञ्जनसिंह सिजापति, बादशाह कुर्मी, सुनिलनरसिंह राणा, राजकुमार बर्मा र लक्ष्मीनारायण शाह आकांक्षी छन् ।
यि मध्ये सबैभन्दा बढी आकांक्षी हमाल, सिजापति र कुर्मी रहेको नेताहरु बताउँछन् । तर, यि कसैले पनि अहिलेसमम प्यानल बनाएका छैनन् । आन्तरिक रुपमा यिनले आफ्नो प्रचार भने गरिरहेका छन् । ‘टिमले अहिलेसम्म उम्मेदवारको टुंगो नै लगाएको छैन, साथीभाईसँग भेटघाट त गरिराखेका छौं, त खुलेर प्रचार गर्न सकिएको छैन,’ संस्थापनतर्फका सभापतिका एक आकांक्षीले भने ।
संस्थापन पक्षबाट जिल्ला सचिव पदमा युवा नेता मेघराज ओलीलाई सभापतिका सबै आकांक्षीले रुचाएका छन् । ओलीले उपसभापति र सचिव मध्ये एउटा पदमा इच्छा ब्यक्त गरेपनि सभापतिका आकांक्षीसहित अधिकांस कार्यकर्ताले उनलाई सचिवमै उठ्न सुझाव दिइरहेका छन् । ‘उपसभापति वा सचिव मध्ये एउटा पदमा उम्मेदवार बन्ने मेरो इच्छा हो, तर मलाई सुझाव दिने अधिकांसले तपाई सचिवमै आउनुपर्छ भनेर सुझाव दिइरहेका छन्,’ उनले भने । सामाजिक सञ्जालमा पनि उनलाई सचिवमै लड्न धेरैले सुझाव दिएको देखिन्छ ।
ओली कांग्रेसको दशौं महाधिवेशनबाट निरन्तर महाधिवेशन र महासमिति हुदै आएका छन् । पार्टीको जिल्ला सदस्य तथा प्रवक्ता भएर समेत जिम्मेवारी पुरा गरिसकेका उनी नेपाल बिद्यार्थी संघ बाँके र प्रेस युनियन बाँकेका पुर्वअध्यक्ष हुन् । दुई दशकभन्दा बढी समय पत्रकारिता गरेको अनुभव पनि उनीसँग छ । सचिव वा उपसभापति मध्ये एकमा शिक्षक संघका पुर्वअध्यक्ष रुद्र ओली र सचिव पदमै कोहलपुर-१० का वडाअध्यक्ष निमबहादुर चलाउने 'निरज' ले पनि आकांक्षा देखाएका छन् ।
प्यानल बनाउन सकस परिरहेका बेला संस्थापनका अधिकांस कार्यकार्यकर्ताहरु पदाधिकारीको एउटै प्यानल बनाउन माग गरिरहेका छन् । ‘सकिन्छ भने सभापति सहितको एउटै प्यानल बनाइयोस्, सकिदैन भने पदाधिकारीको मात्रै भएपनि एउटा प्यानल बनाउन नेताहरुलाई हाम्रो विशेष आग्रह छ,’ कार्यकर्ताहरु भन्छन् ।
कांग्रेस बाँकेमा संस्थापन पक्षका दुई तिहाई मतदाता रहेको बताइन्छ । त्यसकारण गौडेल प्यानलले चुनावमा संस्थापनका मत चोर्ने रणनीति बनाएको छ । संस्थापन पक्षबाट धेरै प्यानल बनेको खण्डमा सभापति पदको निर्वाचन दोस्रो चरणमा जाने निश्चित रहेको नेता, कार्यकर्ताको अनुमान छ । निर्वाचन दोस्रो चरणमा गएर संस्थापनका यि सबै आकांक्षी एकै ठाउँमा उभिएमा सभापति संस्थापनले नै जित्ने सम्भावना देखिन्छ ।
संस्थापनका सबै उम्मेदवार एक भएनन् र केहीले गौडेललाई समर्थन जनाएमा गौडेलले नै सभापति जित्ने सम्भावना बलियो भएर जाने चर्चा भइरहेको छ । संस्थापन पक्षबाट सभापतिसहित एकभन्दा बढी पदाधिकारी र कार्यसमितिको प्यानल बनेको खण्डमा संस्थापनका अधिकांस पदाधिकारी र सदस्यले हार्ने निश्चित रहेको विश्लेषण भइरहेको छ । यदी सभापतिका सबै आकांक्षी एक्लै लडेर पदाधिकारी र कार्यसमितिको प्यानल साझा बनाएको खण्डमा भने संस्थापनले अधिकांस पद जित्ने निश्चित रहेको पनि चर्चा छ ।