आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन निर्वाचन हुदैछ । निर्वाचनका लागि नेपाली कांग्रेससहितको गठबन्धनले लुम्बिनी प्रदेशबाट पुराना कांग्रेस नेता युवराज शर्मालाई अगाडी सारेको छ । कांग्रेस बाँकेका पुर्वसभापति समेत रहेका शर्माले राजनीतिमा दशकौं समय बिताइसके, तर अहिले बल्ल तल्ल पार्टीले मुल्यांकन स्वरुप राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ । निर्वाचनका लागि उम्मेदवारी दर्ता गराइसकेका शर्मा प्रचार–प्रसारमा ब्यस्त हुन थालिसकेका छन् । यसै विषयमा दूरसञ्चार डटकमले गरेको विशेष संवाद :-
युवराज शर्मा
राष्ट्रिय सभा सदस्यका उम्मेदवार, लुम्बिनी प्रदेश
पार्टीले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार बनाएको छ, कस्तो अनुभुती भइरहेको छ ?
सुखद, एक शब्दमा ।
तपाईले पार्टीमा राजनीति गरेको दशकौं भयो, तर जीवनको उत्तररार्धतिर आइपुग्दाखेरी पार्टीले मुल्यांकन गर्यो, यो मुल्यांकन सही थियो अथवा यो समय ढिलो भइसकेको हो ?
यसमा एउटै शब्द फेरी भन्छु, ‘देयर’ आयो, दुरुस्त आयो ।
निर्वाचित हुनुभयो भने के गर्ने सोच बनाउनु भएको छ ?
प्रष्ट नै छ नि, सम्बैधानिक कर्तब्य छ । पार्टीले मलाई दियो, पार्टी प्रतिको कर्तब्य छ । मैले देखेको जनसेवा पनि गर्नेछु ।
तपाई पार्टीमा विगतमा धेरै संघर्ष गर्नुभयो, तर हरेक अवसरबाट बञ्चित हुनुभयो तपाई, के लाग्छ, के कारणले तपाई बञ्चित हुनुभयो ?
यसमा मेरो पनि कारण छ एउटा । म स्वयं पनि कारण हो, एउटा । म स्वयं पनि कारण हो । किनभने मेरो स्वभाव जुन छ, म आन्दोलनबाट आएँ । बिद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन, पार्टीको आन्दोलन । आन्दोलनहरुको मैले नेतृत्व नै गरे । त्यसकारण मेरो स्वभाव एउटा राजनीतिक भन्दापनि आन्दोलनकारीको बढी थियो । यही आन्दोलनकारीको स्वभावले गर्दाखेरी मेरो विचार सुशिल जीसँग मिलेन । २०४६ पछि विचार नमिलेपछि अन्तर संघर्ष बढ्यो पार्टीमा । त्यसैकारणले म चाही पछाडी परेको पहिलो कारण यही हो ।
उहाँसँग कुरा नमिल्नुको खास जड चाही के थियो ?
२०४८ सालको पहिलो निर्वाचनमा मेरो उचाइँको कोही थिएन । म पार्टीको सभापति थिए । त्यो स्थितीमा मैले टिकट पाउने पुरै आशा गरेको थिए । नाम पनि गएको थियो मेरो । एउटा न एउटा बहानाले मेरो नाम काटियो । नाम काटियो र मलाई अर्को दुःख के लाग्यो भने ६ महिना अगाडी राजिनामा गरेको थिए शिक्षकबाट । म (तत्कालिन) शिक्षक संगठनको जिल्लाको सभापति र केन्द्रिय शिक्षक संगठनको महासचिव पनि हुँ ।
मेरो जागिर पनि गयो, मैले टिकट पनि पाएन । यसले गर्दा मलाई झन् आक्रोशित बनायो । त्यहाँबाट मेरो टसल सुशिल जीसँग बढ्यो । अर्को कुरा मैले एकदम सही कुरा उठान गथ्र्ये, उहाँले त्यो कुराको खण्डन गर्ने । काठकै काण्ड भयो यहाँ । काँचो रुख काटियो जंगलमा । मैले त्यसको विरोध गरेँ, जंगल मास्ने काम यो हुनुहुन्न भनेर मैले त्यसमा चाही अडान लिने, उहाँ(सुशिल) ले चाही उनीहरुको साथ दिने ।
एकातिर हामी राष्ट्रियता भन्छौं, जंगल काट्ने भनेको त अराष्ट्रिय काम हो नि । अबैध रुपमा जंगल काटिनु अबैध काम हो । हामीले राष्ट्रियता भन्ने, लोकतन्त्र भन्ने समाजवाद भन्ने र पार्टीभित्र कुनै बहस नै नहुने । त्यो सब कारणले गर्दाखेरी मलाई दिक्क लाग्यो । मैले सभापतिबाट राजिनामा दिए ।
जिल्ला सभापतिबाट मैले राजिनामा दिए र जसलाई मन छ उसलाई सभापति बनाउनुस्, म सक्दिन भने । राजिनामा नदिनुस् भन्दै हुनुहुन्थ्यो उहाँले । तपाईलाई एउटा सिट जित्नसँगको मतलब, त्यसको जिम्मेवारी म लिन्छु भने त्यसपछि उहाँले सनत जीलाई सभापति बनाउनु भएको हो । त्यसपछि पार्टी खस्किदै गयो जिल्लामा ।
तपाई र सुशिल कोइरालाबीच कति सालबाट बैचारिक द्धन्द्ध सुरु भयो ?
यसको दुई चरण थियो । २०४६ सालको आन्दोलन अगाडीको कुरा हो, रणेन्द्रबहादुर हमाललाई २०३३ सालमा गिरिजाप्रसाद कोइरालाले बाँके जिल्ला सभापति बनाउनु भएको थियो । मलाई सचिव बनाएको गिरिजा बाबुले नै हो । त्यतिबेला उहाँ महामन्त्री हुनुहुन्थ्यो । त्यतिबेला प्रतिबन्धित नै थियो ।
त्यसपछि उहाँले एउटा प्रस्ताव राख्नुभयो पछि २०४२/४३ सालतिरको कुरा हो, सुशिल जीलाई जिल्ला कार्यसमिति सदस्यमा राखिदिनुपर्यो भन्नुभयो । रणेन्द्रबहादुर हमाल सभापति, म सचिव र सुशिल दाई चाही जिल्ला कार्यसमितिको सदस्य हुनुहुन्थ्यो । त्यसकारण हामीले नै उहाँलाई स्थापित गर्यौं । हामीले नै स्थापित गर्ने, जसले स्थापित गर्यो, उसलाई नै सफा गर्ने काम गर्नुभयो उहाँले ।
नेपाल बिद्यार्थी संघ, नेपाली कांग्रेसको राजनीतिमा कसरी र कहाँबाट जोडिनु भएको हो ?
नेपाल बिद्यार्थी संघ भन्दा धेरै अगाडीदेखी म आन्दोलनमा छु । २०२४ सालमा प्रथम पटक जेल परेको हुँ । त्यो बेलामा मलाई कांग्रेस भन्ने थिएन । प्रजातान्त्रिक र पञ्चायतको विरोधमा थियो । २०२५ सालमा विपी कोइरालासँग मैले भेट गरे । हामी ८ जना गएका थियौं, यहाँबाट ।
२०२५ सालमा विपी बाबु मुक्त हुनुभयो जेलबाट । हाम्रो भेट गोरखपुरमा भएको हो । गोरखपुरमा रेल्वेमा उहाँलाई हामीले स्वागत गर्यौं । उहाँको ब्यक्तित्व, पछि उहाँले ब्यक्त गरेका विचार, त्यसबाट प्रभावित भएर म चाही नेपाली कांगे्रेसको निष्ठावान कार्यकर्ता बनेको हुँ । र २०२७ सालमा म वनारशमा पढ्दै थिए, अरुण कोइराला पनि वनारशमा मेडिकल पढ्दै हुनुहुन्थ्यो ।
उहाँ, म र एक जना अनुपकुमार सोल्टी हुनुहुन्थ्यो, हामी तीन जना नेपाल बिद्यार्थी संघको प्रतिनिधी भएर काठमाडौं गएका थियौं । जहाँ सनत जी चाही उपसभापति हुनुभयो, विपिन कोइराला चाही सभापति हुनुभयो । दोस्रो अधिवेशन भरतपुरमा भयो, त्यहाँ शेरबहादुर दाई सभापति र म केन्द्रिय उपसभापति भए । म स्वतन्त्र बिद्यार्थी युनियनको पनि सभापति भए, यहाँ डिग्री कलेजको ।
तपाई कांग्रेसको जिल्ला सभापति हुनुभयो, त्यो भन्दा माथी जान नचाहनु भएको हो कि तपाईलाई ल्याउन नचाहेका हुन् ?
राजनीतिको दुई वटा सिद्धान्त हुन्छ । ‘पुस’ र ‘पुल’ । कार्यकर्ताले बहुत मलाई पुस गरे, यो माथी जाओस् भनेर । माथीबाट पुल नगरिदिएपछि अनि म जान सकेन । पुसिङ धेरै थियो, सारा कार्यकर्ता मेरो पक्षमा थिए, ९९ प्रतिशत । तर माथीका नेताहरुले मलाई पुल गरेनन् ।
तपाई अहिले राष्ट्रिय सभाको उम्मेदवार हुनुहुन्छ, यो सबै हुनुमा कसलाई जस दिनुहुन्छ ?
पार्टीलाई दिन्छु । पार्टीको सभापतिलाई दिन्छु । पार्टीको केन्द्रिय कार्यसमितिका सदस्यहरुलाई र प्रदेशका सभापति लगायत कार्यसमितिलाई पनि दिन्छु, उहाँहरुले मेरो नाम १ नम्बरमा प्रस्ताव गर्नुभयो ।
निर्वाचन माघ १२ गते तोकिसकेको छ, तपाईले उम्मेदवारी समेत दर्ता गरेर जिल्लामा फर्किसक्नु भएको छ, चुनावी अभियानलाई कसरी सञ्चालन गर्नुहुन्छ ?
संस्थागत । प्रदेशको सभापतिसँग बसेर बैठक गर्छु । सबैको फोन नम्बरहरु लिन्छु, संस्थागत अभियान एउटा हुन्छ, भने ब्यक्तिगत अभियान एउटा हुन्छ ।
के भन्नु हुन्छ, आम मतदातालाई ?
म चाही यस पदका लागि योग्य छु । म यस पदलाई राम्रो गरी डिल गर्न सक्छु । र मेरो योग्यता यही हो । मैले यसरी गरे पार्टीमा । लोकतन्त्रको लागि यही हो ।
यो पनि पढ्नुस् :
राष्ट्रियसभा निर्वाचनको टिकट पाउने शर्माको यस्तो छ राजनीतिक उतार-चढाप
कांग्रेसले राष्ट्रियसभा सदस्यका उम्मेदवार टुंग्यायो, लुम्बिनीबाट युवराज शर्मा
राष्ट्रिय सभा निर्वाचनमा बाँके कांग्रेसले गर्यो चार जनालाई सिफारिस
भिडियो अन्तरवार्ता हेर्नुस् :