नेपालगन्ज : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीभित्र निरन्तर लागेको व्यक्तिको उचित मूल्यांकन हुने बताएका छन् । पार्टीमा योगदान गरेका ब्यक्तिको मुल्यांकन हुँदा आफु खुसी पनि भएको बताए । नेपाली कांग्रेस बाँकेले बिहीबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दैै प्रदेश सभापति पुनले कांग्रेस पार्टीले युवराज शर्मा जस्ता ब्यक्तिलाई ढिलै भएपनि मुल्यांकन स्वरुप राष्ट्रिय सभाको उम्मेदवार बनाउँदा आफु धेरै खुसी भएको बताए ।
राष्ट्रिय सभामा नेपाली कांग्रेसको तर्फबाट युवराज शर्माको उम्मेदवारीले लुम्बिनी प्रदेश कांग्रेसको शिर उच्च भएको पुनले जोड दिए । ‘युवराज दाईको उम्मेदवारीले नेपाली कांग्रेसको शिर उच्च भएको छ, हामीले दाईको नाम एक नम्बरमा सिफारिस गरेका थियौं, फलस्वरुप उहाँ जस्तो मान्छेलाई पार्टीको केन्द्रिय समितिले पनि उम्मेदवार बनायो, हामी सबै खुसी छौं,’ उनले भने ।
सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन लुम्बिनी प्रदेश समिति लागिपर्ने सभापति पुनको भनाइ छ । ‘अब संगठन राम्रो बनाउनतिर लाग्ने हो, स्थानीय निर्वाचन आउँदैछ, लोकप्रिय मान्छेलाई पार्टीको उम्मेदवार बनाएर जिताउने हो, तेरो मेरो होइन, योग्य, सक्षम र लोकप्रिय मान्छेमाथि अन्याय हुँदैन,’ पुनले भने ‘लुम्बिनी प्रदेशमा हिजो के भयो त्यो थाहा भएन, अबदेखि लुम्बिनी प्रदेशका प्रत्येक नेता कार्यकताको मुल्यांकन हुन्छ, पार्टीको आन्तरिक निर्वाचनमा गुट-उपगुट हुन्छ, तर निर्वाचन सम्पन्न भएपछि लुम्बिनी प्रदेशमा गुट-उपगुट अन्त्य गराउने अभियानमा म लागेको छु ।’
कार्यक्रम कांगे्रस बाँकेका सभापति किरण कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका वन, वातावरण तथा भु-संरक्षण मन्त्री सुरेन्द्र हमाल, संविधान सभा सदस्य बादशाह कुर्मी लगायतको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा जिल्ला उपसभापति सुनिलनरसिंह राणाले स्वागत गरेका थिए ।