नेपालगन्ज : कोरोना भाइरस तिव्र रुपले फैलिएपछि बन्द भएका विद्यालय खोल्न यहाँका निजी बिद्यालयले हतार गरेका छन् । शिक्षक, शिक्षिका, विद्यालय कर्मचारी र विद्यार्थीलाई पूर्णखोपको व्यवस्था नगरि जोखिम कायमै रहेकाबेला विद्यालय सञ्चालन गर्नु झन जोखिम हुने अभिभावकले बताएका छन् ।
बिहीबार निषेधाज्ञा खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालयले निश्चित मापदण्ड बनाएर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको थियो । कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा बाँकेका केही विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरी रहेका छन् । गतवर्ष पनि अनलाइनबाट कक्षा तथा परीक्षा लिएका विद्यालयहरुले दोस्रो लहरको जोखिम कम भएकाले विद्यालय खोल्नका लागि दबाब दिँदै आएका थिए । विज्ञहरुले पनि १८ वर्षमुनिकाले खोप नपाएकाले विद्यालय खोल्नु जोखिमपूर्ण हुने बताउँदै आएका छन् ।
पूर्णखोप दिएर मात्र विद्यालय सञ्चालन गर्न सकिने उनीहरुको भनाइ छ । तेस्रो लहर भित्रिए बाँकेमा मात्र करिब अढाइ लाख बालबालिका उच्च जोखिममा रहेको एक अध्ययन टोलीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाएको थियो । अहिले अभिभावक पनि तेस्रो लहरको अवस्था कस्तो हुने भन्नेमा चिन्तित छन् ।
एक अभिभावकले भने, ‘खोप नपाएका बालबालिका प्रभावित भए अत्यधिक संक्रमण र जटिलता देखिन्छ, नियन्त्रणभन्दा बाहिर जाँदा बाँकेले उपचारै थेग्न सक्दैन ।’ विद्यार्थीलाई पूर्णखोप दिएर मात्र विद्यालयको पठनपाठन सुरु गर्नुपर्ने उनको भनाइ छ । दोस्रो लहरमा नराम्री थला परेको बाँकेमा कोरोना भाइरसको जोखिम अझै कायमै छ । सामान्यकरण हुन लागेको कोरोना भाइरसको जोखिम पुनः फैलिँदै गएको छ ।
स्वास्थ्यकर्मीहरुले पनि यस्तोबेलामा सबै सजग र सुरक्षित रहनुपर्ने बताउँदै आएका छन् । भीडभाड हुने ठाउँमा जाँदा कोरोना भाइरस संक्रमण बढ्ने उनीहरुले बताएका छन् । सरकारले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ का आधारमा विद्यालय खोल्न सकिने जनाएको छ ।
उक्त कार्यढाँचामा विद्यालय खोल्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ । स्थानीय तहले प्रशासनको अनुमति लिनुपर्ने प्रावधान छ । सरकारको कार्यढाँचाअनुसार उचित मापदण्ड बनाएर विद्यालय खोल्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाँकले जनाएको छ । ‘हामीले निश्चित मापदण्ड बनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘जोखिम घट्दै गएपछि विद्यालय खोल्न थालिएको हो ।’