नेपालगन्ज : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आफु स्पष्ट कार्ययोजनाका साथ अगाडी बढ्ने बताएका छन् । एउटा समुहको नेतृत्व गर्दै पार्टीको लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित भएपनि आफु समग्र कांग्रेस कार्यकर्ताको सभापति भइसकेको धारणा राखे ।
नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले कांग्रेस लुम्बिनी प्रदेश स्पष्ट खाकासहित अगाडी बढ्न गृहकार्य गरिरहेको बताए । ‘लुम्बिनी प्रदेशको स्पष्ट खाका र योजनाका साथ हामी अगाडी बढ्नेछौं,’ उनले भने । पार्टीमा योगदान गर्ने नेता, कार्यकर्ताको लुम्बिनी प्रदेश समितिले उचित मुल्यांकन गर्ने उनको भनाई छ । नेपाली कांग्रेसले आफ्नो अधिवेशनमा पूर्ण लोकतान्त्रिक अभ्यास गरेको बताए ।
‘नेपाली कांग्रेस यस्तो पार्टी हो, तल्लोदेखी माथिल्लो तहसम्म अधिवेशन गर्ने पार्टी हो नेपाली कांग्रेस,’ सभापति पुनले भने । बाँके लगायत १६ जिल्लाको अधिवशेन रोक्नुपर्ने कारण केही नभएको भन्दै किन रोकियो त्यो पार्टीले जान्ने कुरा भएको बताए । अन्य पार्टीले साना काम गर्ने र ठुला प्रचार गर्ने गरेको तर कांग्रेसले ठुला काम गरेर सानो प्रचार पनि नगर्ने गरेको पुर्वमन्त्री समेत रहेका सभापति पुनले औल्याए ।
राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीले युवराज शर्मा जस्ता पुराना नेतालाई उम्मेदवार बनाएर उच्च रुपले सम्मान गरेको उनले बताए । ‘उहाँसहित हाम्रो गठबन्धनमा रहेका सबै उम्मेदवारलाई निर्वाचित गराउन कांग्रेस लुम्बिनी प्रदेश समिति लागिरहेको छ,’ उनले भने ।
सो क्रममा युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा काँगे्रस गठबन्धनलाई निर्वाचित गराउन प्रेस युनियनको सक्दो भूमिका रहने बताए । प्रेस युनियनले सुरु गरेको पत्रकार कल्याण कोषका बारेमा जानकारी दिदै उक्त कोषमा आवश्यक सहयोग गर्न अपील पनि गरे ।
पत्रकारहरुलाई समस्या परेको बेला सहयोग प्रदान गर्ने उद्देश्यले स्थापित कोष प्रभावकारी हुने भएकाले यसको निरन्तरतामा युनियन कटिवद्ध रहेको बताए । युनियनले स्थापना गरेको सुशिल कोइराला स्मृती राष्ट्रिय पत्रकारिता पुरस्कार कोष, पन्नालाल गुप्त चाचाजी राष्ट्रिय पत्रकारिता पुरस्कार र जगन्नाथ गौडेल स्मृती पत्रकारिता पुरस्कारलाई अझ ब्यवस्थित गर्ने सोच बनाएको बताए ।
यि सबै कार्यका लागि युनियनले सबै पक्षसँग सहयोगको अपेक्षा पनि गरेको उनको भनाई छ । अध्यक्ष ओलीले कांग्रेस लुम्बिनी प्रदेश सभापति पुन र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार समेत रहेका कांग्रेस बाँकेका पुर्वसभापति युवराज शर्मालाई खादा ओढाएर सम्मान गरेका थिए । यस्तै युनियन बाँकेको तर्फबाट प्रदेश सभापति पुनलाई पश्चिम नेपालको शक्तिपीठ बागेश्वरी मन्दिर अंकित मायाको चिनो अध्यक्ष ओलीले प्रदान गरे ।
पत्रकार भेटघाटमा नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोइराला, प्रेस युनियनका उपमहासचिव प्रेम केसी, कांगे्रस बाँके क्षेत्र नम्बर १ का सभापति पोषण केसी, पार्टीका लुम्बिनी प्रदेश सदस्यहरु टेकनारायण भुसाल, दिक्षा कोइराला, परमेश्वरी पाठक, कृष्णा सापकोटा, अञ्जना पाण्डे, जिल्ला सदस्यद्वय नारायण गौडेल र चिन्तामणी धिताल, कांग्रेस प्रदेश सभा १ ख का सभापति बलराम शर्मा लगायत उपस्थित भएका थिए ।