नेपालगन्ज : नेपाल निजामति कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष गोपाल पोखरेलले सरकारले ल्याउन लागेको संघीय निजामति ऐन कर्मचारीको अनुकुल नरहेको बताएका छन् । निजामति कर्मचारी युनियन बाँकेको आठौं जिल्ला अधिवेशनलाई शुक्रबार नेपालगन्जमा सम्बोधन गर्दै उनले भने, ‘फेरी ऐन पास हुने त होइन, हामीलाई डर छ, ऐन धेरै अन्यायपूर्ण छ ।'
प्रस्तावित उक्त ऐनमा कर्मचारीका लागि विभागिय कारबाही कडा रुपमा राखेर कर्मचारीलाई आतंकित बनाउने काम गरिएको सुनाए । कर्मचारीले खाईपाई आएको हरेक सुविधालाई कटौती गर्न खोजिएको उनले बताए । संघीय नियामति कर्मचारी ऐन आफ्नो अनुकुल नआएमा कांग्रेसकै सरकार भएपनि त्यसका विरुद्ध आन्दोलित हुने चेतावनी पनि दिए ।
‘नेपाल निजामति कर्मचारी युनियन नेपाली कांग्रेसको शुभेच्छुक संगठन हो, हामीले पटक पटक हाम्रा मागहरुका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छौं,’ उनले भने ‘हाम्रा माग सम्बोधन हुदैन भने कांग्रेसकै सरकार भएपनि सरकारविरुद्ध आन्दोलनमा उत्रिन बाध्य हुन्छौं ।’
संघिय निजामति ऐनका विषयमा युनियनले लामो समयदेखी लडाई गर्दै आएको अध्यक्ष पोखरेलले बताए । उनले भने, ‘विगतमा त कम्युनिष्ट सरकार हुँदा हामीहरु धेरै लड्यौं, अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ, हामी लड्न जाने कहाँ ?’ कर्मचारीको आन्दोलनका कारण ऐन फिर्ता आएको औल्याउँदै उनले ऐनमा कर्मचारीका हक, अधिकार नसमेटिए स्वीकार्य नहुने बताए ।
कर्मचारी युनियन अब आउने आधिकारिक टे«ड युनियनको चुनावमा विपक्षी संगठनसँग लड्ने बताए । आफु नेतृत्वमा आएपछि युनियनलाई गुटबाट मुक्त राखेको जिकिर गरे । नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले निजामति कर्मचारीको योगदान धेरै रहेको बताइन् । अब बन्ने निजामति कर्मचारीको कानुनले कर्मचारीको हक अधिकारलाई सम्बोधन गर्नुपर्ने जोड दिइन् ।
कर्मचारी युनियन युनियन बाँकेका कार्यबाहक अध्यक्ष उद्धबप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसी, निजामति कर्मचारी युनियनका केन्द्रिय सदस्यहरु, पुर्व पदाधिकारी, ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्ल लगायतले बोलेका थिए । युनियनको अधिवेशनले नयाँ कार्यसमिति पदाधिकारी तथा केन्द्रिय प्रतिनिधी निर्वाचित गर्ने मुख्य निर्वाचन अधिकृत (अधिवक्ता) लोकबहादुर शाहले बताए ।
निर्वाचन अधिकृत (अधिवक्ता) प्रभावकर भट्टराईका अनुसार शुक्रबार बेलुकी ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा उम्मेदवारी दर्ता भएर पनि राती ९ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ । युनियनको जिल्ला अध्यक्षमा वर्तमान कार्यबाहक अध्यक्ष उद्धबप्रसाद श्रेष्ठ र कृष्णप्रसाद उपाध्यायले उम्मेदवारी दर्ता गरेको भट्टराईले जानकारी दिए ।