काठमाडौं : नेपालमा एकैपटक २४ जनामा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएसँगै सरकारले देशभरका अस्पतालहरुलाई ‘हाई अर्लटमा’ रहन निर्देशन दिएको छ । डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन बढि संक्रामक भएकाले धेरै मानिस संक्रमित हुनसक्ने भन्दै सरकारले देशभरका अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै सहि तरिकाले हात धुन, मास्कको प्रयोग गर्न, बारम्बार हात धुन तथा दुई मिटरको दूरी कायम गर्न समेत सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।
यसअघि नेपालमा तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ । नेपालमा पहिलो पटक मंसिर २० गते दुई जनामा कोरोनाको नयाँ भेरियन्ट अमिक्रोन संक्रमण भएको थियो । उनीहरु ३ मंसिरमा हवाइ मार्ग हुँदै नेपाल आएका थिए, तर ओमिक्रोन संक्रमण पुष्टि हुँदा १९ मंसिर भइसकेको थियो ।
यस्तै ७ पुषमा तेस्रो व्यक्तिमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भयो । यसको १६ दिनपछि एकैपटक २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । एक हजार १४६ पोजिटिभ नमुनाहरूको एसजिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरूमा २२ प्रतिशत एसजिन नेगेटिभ पत्ता लागेका हो । एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले एस जिन स्क्रिनिङ गर्ने सुविधा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल ९सिभिल०, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ र भेरी अस्पतालमा रहेको जानकारी दिएको छ ।