नेपालगन्ज : दुई दिनमै बाघले बाँकेमा दुई जना महिलाको ज्यान लिएपछि राप्तीपारीका स्थानीय बासिन्दा त्रसित भएका छन् । बाघले दिनहुँ आतंक मच्चाउन थालेपछि नियन्त्रण गर्ने प्रत्रिया अगाडी बढाइएको छ । राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको शनिबार बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
स्थानीय प्रहरीका अनुसार बिहान साढे १० बजेतिर सदाबहार सामुदायिक वनभित्र दाउरा काट्न गएकी चाँदनीलाई बाघले आक्रमण गरेपछि उनको मृत्यु भएको हो । घटनास्थल मानव बस्तीबाट करिव ५ किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ ।
बाघले आक्रमण गर्दा बिहीबार पनि राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो । जंगलमा घाँस दाउरा काट्न गएको बेलामा उनलाई बाघले मारेको हो । स्थानीय जलहन सामुदायिक वनको ‘तीनपाने’ भन्ने स्थानमा लिलासहित ५५ वर्षीया चन्द्रकला मल्ल, ५५ वर्षकै हुकुमी बस्नेत घाँस दाउरा काट्नका लागि बिहीबार बिहान १० बजेतिर जंगल गएका थिए ।
घाँस दाउरा काट्दै गर्दा बाघले एक्कासी लिलालाई समातेर लगेपछि अन्य दुई जना महिलाले फोन गरेर गाउँमा खबर गरेका थिए । बाघले लिलालाई घिसार्दै घटनास्थलबाट करिव २० मिटर पर लगेर खादै गरेको अवस्थामा प्रहरी र स्थानीयले फेला पारेका थिए ।
योसहित बाँकेमा तीन महिनाको अवधिभित्र बाघले ४ जनाको ज्यान लिइसकेको छ । बाघको आक्रमणबाट राप्ती सोनारी १ गाभर र नरैनापुर गाउँपालिकामा यसअघि पनि १/१ जनाको मृत्यु भएको थियो । बाघले विगत एक हप्तादेखी राप्तीपारीका जंगलमा आक्रमण गर्न सुरु गरेको हो । विभिन्न कामले जंगलमा गएका स्थानीय बासिन्दा र पशु चौपायालाई बाघले दिनहुँ आक्रमण गरिरहेको छ ।
बाघको आक्रमण श्रृंखला नरोकिएपछि राप्तीपारीका स्थानीय बासिन्दा निकै त्रसित बनेका हुन् । बाघले विभिन्न कामले जंगलमा गएका थुप्रै ब्यक्तिलाई पनि आक्रमण प्रयास गर्दै आएको छ । अहिलेसम्म राप्ती पारीका आधा दर्जन जति ब्यक्तिहरु बाघको आक्रमणबाट बच्न सफल भएका छन् ।बाघले आतंक मच्चाइरहेको जंगल राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्छ ।
डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले बाघलाई नियन्त्रण तथा ब्यवस्थापन गर्नका लागि आवश्यक प्रक्रिया अगाडी बढाइसकेको जानकारी दिएका छन् । संघीय वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोष लगायत निकायसँग समन्वय गरेर ब्यवस्थापनको प्रक्रिया अगाडी बढाइएको बताए ।
‘बाघलाई नियन्त्रण गरिदिनु पर्यो भनेर यि सबै निकायमा हामीले अनुरोध गरिसकेका छौं, सोही अनुरुप आज (आइतबार) राष्ट्रिय प्रकृती संरक्षण कोषको प्राविधिक टोली आउँदैछ,’ उनले भने ‘स्थानीय स्तरमा माइकिङ र एफ.एम रेडियोबाट सूचना प्रशारण गरेर स्थानीय बासिन्दालाई जंगलभित्र प्रवेश नगर्न अनुरोध गरिरहेका छौं ।’ निकुञ्जलाई अनुरोध गरेपछि बाघको निगरानी गर्नका लागि दुई वटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन भएको खड्काले बताए ।