नेपालगन्ज : ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धमेन्द्र बास्तोलाले नेपालमा अत्यन्तै ठुलो खतरा पैदा भएको बताएका छन् । अमेरिकाले एमसिसीमार्फत नेपाललाई आफ्नो प्रान्तको रुपमा कब्जा गर्न खोजेको उनको जिकिर छ ।
जनपत्रकार संगठन बाँकेले आइतबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले भने, ‘एमसिसी एक्काइसौँ शताब्दीको इष्ट इन्डिया कम्पनी हो, नेपालको राष्ट्रलाई अमेरिकाको प्रान्तको रुपमा कब्जा गर्ने यो खालको षडयन्त्र एमसिसिमार्फत भइराखेको छ, एमसिसी पास गर्न प्रतिपक्ष र सत्तापक्ष सहमत भइरहेको देखिन्छ ।’ नेपाल राष्ट्र नै यस कम्पनीको मातहतमा चल्नुपर्ने प्रावधान एमसिसीमा राखिएको पार्टीका विदेश विभाग इन्चार्ज समेत रहेका बास्तोलाले दाबी गरेका छन् ।
सरकारसँग भएको सहमती अझै कार्यान्वयनमा नआएको उनको गुनासो छ । ‘तत्कालिन सरकारसँग भएको तीन बुँदे सहमती मध्ये हाम्रो पार्टीमाथीको प्रतिबन्ध चाही हटाइयो, तर अझैपनि मुद्दा फिर्ता गरिएको छैन, बन्दीहरुलाई रिहाई गरिएको छैन,’ पार्टीका केन्द्रिय सचिवालय सदस्य बास्तोलाले भने ।
पार्टीका १ सय ५० जना जति बन्दीहरु थुनामा रहेको मध्ये ८० देखी ९५ जना अझैपनि जेलमा रहेको बताए । उनले थपे, ‘५०/६० जना जति छुट्नु भयो, त्यसमध्ये सहमतीबाट कोही छुट्नु भएको छैन, म बाहेक सहमतीबाट अरु कोहीपनि छुट्नु भएको छैन, सरकारसँगको सहमतीबाट म मात्रै छुटेको हो ।’
सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘अरु पार्टीले बैधानिक रुपमा चन्दा उठाएका छन्, चन्दा उठाउने र भ्रष्टाचार गर्ने कुरा उनीहरुका लागि इलिगलभित्र पर्दैन, हामीले पार्टी सञ्चालनका लागि स्वइच्छाले सहयोग मागेका छौं ।’ एमसिसी र राष्ट्रियताको मुद्दालाई जोडदार रुपले उठाएका कारण आफ्नो पार्टीको बद्नाम गर्नका लागि चन्दा आतंक, कब्जा तथा अपहरणका घटनामा आफ्नो पार्टीलाई जोडर बद्नाम गरिएको जिकिर गरे ।
उनले यथास्थितीमा आफ्नो पार्टी कुनैपनि निर्वाचनमा सहभागी नहुने प्रष्ट्याए । निर्वाचनबारे छिट्टै पार्टीमा छलफल गरेर निक्र्यौल गरिने पनि बताए । बास्तोलाले भने, ‘अहिलेको अवस्थामा जनमत संग्रहको चुनाव गराऔं, त्यो भयो भने हामी भाग लिन्छौं, यही अवस्थामा ‘दलाल’ र ‘पुँजीवादी’ सँग हामी चुनावमा भाग लिदैनौं ।’ आफ्नो पार्टीले जनमत संग्रहबाट चुनाव गराउनुपर्ने माग गरेको उनले जोड दिए ।
‘हामीले के भनेका छौं भने जनमत संग्रहको निर्वाचन गरौं, प्रगतिशिल राज्य प्रणाली निक्र्यौल गरौं, नेताहरु चुनिएर जानुपर्छ, गाउँको पनि चुनाव गर्नुपर्छ, प्रदेशको पनि चुनाव गर्नुपर्छ, भोली केन्द्रको होला, सरकार चाही चुनावबाटै गराउनु पर्छ,’ उनले थपे । उनले मुलुकमा उठेका कुनैपनि कुराको विषयमा जनमत संग्रहबाट निक्र्यौल गरिनुपर्ने बताए । तर, जनताले राजतन्त्र अन्त्य गरिसकेकाले त्यो माग नगर्ने विश्वास गरे ।
भिडियो हेर्नुस् :