नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित फत्तेपुर गाउँमै बाघ पसेको हल्ला फैलिएपछि स्थानीय बासिन्दा आतंकित बन्न पुगेका छन् । बाघको आक्रमणबाट शनिबार ज्यान गुमाएकी राप्तीसोनारी ६ फत्तेपुर निवासी २९ वर्षीया चाँदनी थारुको घर नजिकै गाउँमा बाघ पसेको भन्दै आइतबार बेलुका एक्कासी हल्ला फैलिएको थियो ।
गाउँमै बाघ आएको हल्ला फैलिएपछि अहिले फत्तेपुरका स्थानीय त्रसित भइरहेका छन् । अस्थायी प्रहरी पोष्ट फत्तेपुर (महेमानपुर) का इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक(सई) यज्ञबहादुर खत्रीले गाउँमा बाघ आएको हल्ला एक्कासी फैलिदाँ स्थानीय बासिन्दा त्रसित भइरहेको बताए । तर, गाउँमा बाघ पसेको एकिन पुष्टी नभएको उनले बताए ।
‘कुकुर भुकेपछि बाघ आयो भन्दै केही मान्छेहरु डराएर भागेका हुन्, तर बाघलाई कसैले देखेको छैन,’ उनले टेलिफोनमा भने ‘रातको समयमा बाघ मात्र नभएर अन्य कुनैपनि जिव, जन्तु आउन सक्छन् ।’ बाघ नै भएको पुष्टी नभएकाले आतंकित नहुन प्रहरीले स्थानीय बासिन्दालाई अनुरोध पनि गरेको छ ।
बाघले शनिबार चाँदनीको ज्यान लिएको थियो, भने यसअघि बिहीबार पनि राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको बाघको आक्रमणबाटै मृत्यु भएको थियो । बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्ती सोनारी १ गाभर र नरैनापुरमा एक/एक जनाको मृत्यु भएको थियो ।
बाघले विगत एक हप्तादेखी भने राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको जंगलभित्र मान्छे र पशु चौपायामाथी निरन्तर आक्रमण गर्दै आएको छ । बाघको श्रृंखलावद्ध आक्रमण नरोकिएपछि राप्तीपारीका स्थानीय अहिले निकै त्रसितमा छन् ।
बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत तीन दिनदेखी राप्तीपारी क्षेत्रमा दुई वटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । बाघले आतंक मच्चाइरहेको स्थान राष्ट्रिय तथा सामुदायिक वन क्षेत्र अन्र्तगत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन् ।