बर्दिया : नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले पार्टीविरुद्ध गतिविधी गर्ने ब्यक्तिलाई नछाडिने चेतावनी दिएका छन् । कांग्रेस मधुवन नगर समिति बर्दियाले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘चुनाव लड्ने, हार्ने र पार्टीकाविरुद्ध गतिविधी गर्ने त्यस्ता ब्यक्तिलाई छाडिने छैन, पार्टी निर्माण गर्ने अभियानका लागि म यहाँ आएको हुँ,’ उनले भने ।
पार्टीभित्र विवाद गर्नेभन्दा पनि अब पार्टीलाई जिताउने अभियानमा लाग्न सहमहामन्त्री राठौंरले कार्यकर्तालाई निर्देशन पनि दिए । कांग्रेस सुधार गर्ने कुरामा अगाडी बढिरहेको भन्दै उनले पार्टीभित्र समस्या भएमा ती समस्यालाई वडादेखी जिल्लासम्म लगेर टुंग्याउनुपर्ने सुझाव दिए । ‘पार्टी बनजाउने कुरामा छलफल गर्नुस्, कस्ले के पायो, के पाएन भन्ने कांग्रेसभित्र ठुलो विषय होइन, कांग्रेसले न्याय गर्नुपर्छ, नेताले न्याय गर्नुपर्छ भन्ने मान्यता राख्ने ब्यक्ति मध्ये म पनि पर्छु, तर शत प्रतिशत न्याय कुनै नेताले गर्न सक्दैन र मैले पनि गर्न सक्दिन,’ उनले भने ।
एक जनालाई न्याय गर्दै गर्दा ठाउँ एउटा हुने र इच्छा गर्ने चार÷पाँच जना हुने भन्दै एउटालाई न्याय गर्दा अरुलाई अन्याय हुने नेता राठौंरले बताए । अन्याय भएको भए भोलीका दिनमा सुधार गरेर जान्छु भनी पार्टीमा लाग्नुपर्ने उनले जोड दिए । ‘मैले पनि गल्ती गरे, कमी कमजोरी गरे भने म त्यसलाई म सुधारेर जान तयार छु,’ राठौंरले भने ।
पार्टीभित्र अहिले दुई थरीका विचार सशक्त रुपमा आएको भन्दै अगाडी थपे, ‘नेपाली कांग्रेस त्यो पार्टी हो, कि विपी कोइरालाले सशस्त्र क्रान्ति गर्नुपर्छ भन्दाखेरी आदरणीय शन्त नेता कृष्णप्रसाद भट्टराईले म सशस्त्र क्रान्तिको पक्षमा छैन, म शान्तिपुर्ण आन्दोलनको पक्षमा छु भनेर उहाँ आफ्नो नेतासँग पनि बिद्रोह गरेर आखिरमा विपी कोइरालाले त्यही बाटो लिनुपरयो, त्यसैले त्यो पार्टी हो नेपाली कांग्रेस ।’
कांग्रेसले हरेक विकास निर्माणदेखी सामाजिक परिवर्तन गराएको प्रतिनिधी सभाका सांसद समेत रहेका राठौंरको भनाई छ । उक्त कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्यद्धय डा. गोपाल दहित र जुवेदा खातुन लगायत नेताहरुको पनि उपस्थिती रहेको थियो ।
भिडियो हेर्नुस् :