नेपालगन्ज : नेकपा एमाले बाँकेको आठौं जिल्ला अधिवेशनले अध्यक्ष सहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले अध्यक्षमा किस्मतकुमार कक्षपति, उपाध्यक्षमा डिल्ली बिसी, सचिव रत्न खत्री, उप-सचिवमा दीपककुमार बर्मा र भूमिसरा धिताल निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत एवम् अधिवक्ता विकास आचार्यले जानकारी दिए ।
अधिवेशनले जिल्ला कमिटी सदस्यको भने टुंगो लगाउन बाँकी रहेको उनले बताए । ‘जिल्ला कमिटी सदस्य पदमा सर्वसम्मत गर्न उम्मेदवारबीच आज(सोमबार)अपरान्हसम्मको समय दिएका छौं, सहमती नभए भोली निर्वाचन हुन सक्छ,’ निर्वाचन अधिकृत आचार्यले भने । अध्यक्षसहित पदाधिकारीको टुंगो लाग्न नसक्दा अधिवेशन लम्बिएको थियो । आचार्यका अनुसार जिल्ला अध्यक्ष पदका लागि किस्मतकुमार कक्षपति, निरक गुरुङ र अशोक कर्माचार्यले उम्मेदवारी दिएका थिए ।
यस्तै उपाध्यक्षमा डिल्ली बिसीको मात्र उम्मेदवारी परेको थियो । सचिवमा भिमबहादुर ओली, रत्न खत्री र बलराम भट्टराईले उम्मेदवारी दिएका थिए । यसैगरी दुई उपसचिव पदमा दिपककुमार बर्मा, भुमिसरा धिताल, तुलसीराम थारु, सतिश निरौला, अक्षरी पोखरेल, भाष्कर काफ्ले, सत्यनारायण बर्मा र मनोजकुमार बर्माले उम्मेदवारी दर्ता गराएका थिए । तर, यसअघि अध्यक्ष मण्डलले प्रस्ताव गरेको नामलाई नै टुंगो लगाइएको छ ।
अध्यक्ष मण्डलले अध्यक्षमा कक्षपति, उपाध्यक्षमा बिसी, सचिवमा खत्री, उपसचिवमा बर्मा र धितालको नाम प्रस्ताव गरेको थियो । । एमालेका केन्द्रिय सदस्यहरु सुर्य ढकाल, मोहम्मद हारुन, पशुपतिदयाल मिश्र, शान्ति ढकाल र दिपा शर्मा अध्यक्ष मण्डलमा छन् । निर्वाचन अधिकृत आचार्यले अन्य आकांक्षीले आइतबार उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षसहित पदाधिकारी निर्विरोध निर्वाचित भएको बताए ।
‘अध्यक्षसहित पदाधिकारीलाई सर्वसम्मत चयन गर्न निर्वाचन समितिले समय दिएको थियो, पछि पार्टी केन्द्रिय कार्यालयबाट पनि पत्र आयो, त्यसपछि अन्य आकांक्षीहरुले उम्मेदवारी फिर्ता लिएर वातावरण सहज बनाइदिनुभयो,’ निर्वाचन अधिकृत आचार्यले भने । एमाले जिल्ला कमिटी सदस्यका लागि पनि आवश्यकता भन्दा धेरै जनाको उम्मेदवारी परेको उनले बताए ।