नेपालगन्ज : बाँकेको राप्तीपारी दिनहुँ आतंक मच्चाइरहेको पाटेबाघ नियन्त्रण गर्नका लागि प्राविधिक टोली सोमबार बेलुका बल्ल राप्तीपारी पुगेको छ । बाघ नियन्त्रणमा नआउँदा राप्तीपारीका स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र बिहीबार राप्ती सोनारी ४ पर्साेना की ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो ।
बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्ती सोनारी १ गाभर र नरैनापुरमा एक/एक जनाको मृत्यु भएको थियो । बाघले विगत एक हप्तादेखी भने राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको जंगलभित्र मान्छे र पशु चौपायामाथी निरन्तर आक्रमण गर्दै आएको छ । बाघको श्रृंखलावद्ध आक्रमण नरोकिएपछि राप्तीपारीका स्थानीय त्रसित भएका हुन् ।
बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारी पुगिसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए । उक्त टोलीमा तीन जना प्राविधिक कर्मचारी छन् । ‘बाघलाई नियन्त्रण गर्नका लागि टोली आज (सोमबार) बेलुका आइपुगेको छ, उक्त टोलीलाई हामीले अगैयाबाट रिसिभ गरेर फत्तेपुरको मैमानपुरमा पुर्याइसकेका छौं,’ उनले भने ‘मैमानपुर सव-डिभिजन वन कार्यालयमा हाम्रो क्याम्प खडा भएको छ, त्यहाँ बसेर प्राविधिक टोली बाघ नियन्त्रणको काममा खटिनेछ ।’
प्राविधिक टोलीलाई डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी, सशस्त्र वन रक्षक तथा नेपाली सेनाले पनि सहयोग गर्नेछन् । ‘बाघ अहिले कतातिर छ, त्यसको पहिचान गर्ने, त्यसपछि उसलाई लठ्याएर नियन्त्रणमा लिने काम हुन्छ,’ कँडेलले भने ।
बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत चार दिनदेखी राप्तीपारी क्षेत्रमा दुई वटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । बाघले आतंक मच्चाइरहेको स्थान राष्ट्रिय तथा सामुदायिक वन क्षेत्र अन्तरगत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन् ।
सम्बन्धित समाचार पढ्नुस् :
बाघको आक्रमणबाट ज्यान गुमाएका ब्यक्तिका परिवारलाई किरिया खर्च प्रदान
नियन्त्रणमै आएन मान्छे खाने पाटेबाघ
बाघ नियन्त्रण गर्न प्राविधिक टोली पुग्दै राप्तीपारी
बाँकेमा बाघले फेरि आक्रमण गर्यो, महिलाको मृत्यु
बाघले बाख्रा मार्यो, आक्रमणबाट जोगिए बमबहादुर
बाघको आक्रमणबाट बाँकेमा तीन महिनामा तीनको मृत्यु
बाँकेको बैजापुर जंगलमा पाटेबाघको आक्रमणबाट महिलाको मृत्यु
जंगलमा पात टिप्न गएकी महिलालाई पाटेबाघले झम्टियो