नेपालगन्ज : पुर्वमन्त्री मोहम्मद ईस्तियाक राईले नेपालगन्जमा स्थापना गरेको उद्योगमा १ अर्व २० करोड रुपैयाँ लगानी गरेका छन् । नेपालगन्ज-२१ बिर्तामा स्थापना गरेको किसान फिड मिल प्रा.लिमा ६५ करोड, अरहम ह्याचरीज प्रा.लि.मा ३५ करोड र रजा ग्रुप प्रा.लि.मा २० करोड लगानी गरेका हुन् । यि तीन वटै उद्योगबाट दाना, कुखरा र अण्डा उत्पादन गरिनेछ ।
पुर्वमन्त्री राईका ६ जना दाजुभाई मिलेर यि उद्योग स्थापना गरेका हुन् । करिव दुई विघा जमिनमा किसान फिड मिल र ९० कठ्ठा जमिनमा कुखुरा फर्म तथा ह्याचरी उद्योग स्थापना गरिएको पुर्वमन्त्री राईले जानकारी दिएका छन् । किसान फिड मिलको संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्रराय यादवले उद्घाटन गरिसकेका छन् ।
उद्घाटन सँगै उद्योगले उत्पादन तथा विक्री वितरणको काम सुरु गरिसकेको छ । आफ्ना तीन वटै उद्योग सञ्चालनमा आएपछि मासु, कुखुरा र अण्डामा नेपाल आत्मनिर्भर हुने सञ्चालक एवम् पुर्वमन्त्री राई बताउँछन् । उनी भन्छन्, ‘अहिले दाना, कुखुरा र अण्डामा हाम्रो देश परनिर्भर छ, बाँके जिल्लामै दाना, कुखुरा र अण्डा बाहिरी जिल्लाको खपत हुन्छ ।’
राईका अनुसार किसान फिडमा प्रतिघण्टा दश मेट्रिक टन दाना उत्पादन हुन्छ । उद्योगमा ९ हजार मेट्रिक टन क्षमताको गोदाम पनि निर्माण गरिएको छ । उद्योगले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरेको छ । किसान फिडले कुखुरा, माछा र पशुका लागि आवश्यक पर्ने सबै प्रकारका दाना उत्पादन गर्नेछ ।
बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभाका सांसद समेत रहेका राईले यसअघि शहरी विकास मन्त्री र श्रम तथा यातायात मन्त्री भएर काम गरिसकेका छन् । जनता समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका राई पछिल्लो समयमा राजनीतिसँगै उद्योग, ब्यवसायमा पनि सक्रिय भइरहेका छन् ।