नेपालगन्ज : बाँकेको राप्तीपारी आतंक मच्चाइरहेको पाटेबाघ रहेको सम्भावित स्थान पत्ता लागेको छ । बाघलाई खोज्न मंगलबार दिउँसो डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोषका स्वास्थ्य प्राविधिक, स्थानीय जनप्रतिनिधी, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी, सामुदायिक समुह, प्रहरी, नेपाली सेना लगायतको संयुक्त टोली फत्तेपुर जंगलमा परिचालित भएको थियो । सो क्रममा उक्त टोलीले बाघको ताजा पाइला फेला पारेको हो ।
बाघको ताजा पाइला फेला परेपछि सम्भावित स्थानमा आहारा स्वरुप एउटा ‘पाडो’ लगेर जंगलमै छाडिएको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत एवम् सूचना अधिकारी गणेश खड्काले जानकारी दिए । ‘मानव बस्तीदेखी करिव ४/५ किलोमिटर भित्र फत्तेपुर जंगलमा बाघको ताजा पाइला फेला पर्यो, त्यसपछि बाघ आउन सक्ने सम्भावित स्थानमा एउटा पाडो लगेर बाँधेका छौं, त्यहाँ क्यामेरा पनि जडान गरेका छौं,’ उनले भने ‘पाडो खान आउने बाघलाई लठ्याएर नियन्त्रणमा लिन बुधबार प्राविधिक सहितको टोली जंगलमै बस्नेछ ।’
बाघको आहाराका लागि दुई वटा पाडो किनेकोमा मंगलबार एउटालाई मात्र जंगलमा लगेर राखिएको खड्काले बताए । उनका अनुसार पाडोको ब्यवस्थापन वडा कार्यालय र राप्ती सोनारी गाउँपालिकाले गरेको हो । बाघलाई नियन्त्रणमा लिने वित्तिकै ‘वाइल्ड लाइफ एम्बुलेन्स’ मा राखेर ब्यवस्थापन गर्ने तयारी छ । त्यसका लागि उक्त एम्बुलेन्सलाई फत्तेपुरमा तयारी अवस्थामा राखिएको छ । ‘बाघलाई लठ्याएर नियन्त्रणमा लिने हाम्रो योजना छ, बेहोस् भएको बाघलाई ब्यवस्थापन गर्नका लागि वाइल्ड लाइफ एम्बुलेन्स पनि तयारी अवस्थामा छ,’ उनले भने ।
बाघ नियन्त्रण गर्नका लागि स्वास्थ्य प्राविधिक टोली सोमबार बेलुका मात्र बाँकेको राप्तीपारी पुगेको हो । बाघ नियन्त्रणमा नआउँदा राप्तीपारीका स्थानीय बासिन्दा निकै त्रसित छन् । बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र बिहीबार राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो ।
बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्ती सोनारी १ गाभर र नरैनापुरमा एकरएक जनाको मृत्यु भएको थियो । बाघले विगत डेढ हप्तादेखी भने राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको जंगलभित्र मान्छे र पशु चौपायामाथी निरन्तर आक्रमण गर्दै आएको छ ।
बाघ नियन्त्रण गर्नका लागि फत्तेपुरको महेमानपुरस्थित सव-डिभिजन वन कार्यालयमा क्याम्प खडा गरिएको छ । बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले त्यहाँ दुई वटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी समेत परिचालन गरेको छ । बाघले आतंक मच्चाइरहेको स्थान राष्ट्रिय वनको क्षेत्र अन्तरगत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन् ।
यो पनि पढ्नुस् :
मान्छे खाने बाघ नियन्त्रण गर्न प्राविधिक टोली बल्ल पुग्यो राप्तीपारी