नेपालगन्ज : नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री किशोरसिंह राठौंरले स्थानीय तहको चुनावमा पार्टीलाई जिताउन नसके आफुहरु निर्वाचित भएको केही अर्थ नहुने बताएका छन् । कांग्रेस बाँके क्षेत्र नम्बर २ ले नेपालगन्जमा बुधबार गरेको स्वागत, सम्मान, बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले, ‘स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सकेनौं भने हामी निर्वाचित भएको केही अर्थ छैन ।’ तसर्थ, उक्त निर्वाचनको तयारीमा अहिले देखी नै जुट्न कार्यकर्तालाई उनले निर्देशन दिए ।
‘संगठन बनाउने अभियानमा तपाईले मलाई साथ दिने कि नदिने ?’ उनले प्रश्न गर्दै भने । स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा जोडिन आफु प्रत्येक वडामा खटिन तयार रहेको पनि सह-महामन्त्री राठौंरले स्पष्ट पारे । राठौंरले भने, ‘तपाईले मलाई बोलाउनु हुन्छ भने म वडा–वडामा आउन तयार छु, तर मैले कति भ्याउँछु, कांग्रेसलाई वडामा जिताउने अभियानमा तपाईहरु लाग्नुस् ।’ वडादेखी केन्द्रसम्म कांग्रेसमय भएको आफुले देख्न चाहेको प्रतिनिधी सभाका सांसद समेत रहेका नेता राठौंरले जोड दिए । स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयरको टिकट दाबी गर्ने नेताले आफ्नो वडामा जिताउन सक्नुपर्ने उनको भनाई छ ।
पार्टीमा इमान्दारीपुर्वक लागेका सबैलाई न्याय हुने बताउँदै नेता राठौंरले भने, ‘जो साथीले अवसर पाउनु भएको छैन, ती साथीले अवसर पाउनु हुनेछ, अवसरको कमी छैन ।’ पार्टीको कार्यसमितिमा बस्ने तर बैठकमा नआउने प्रवृत्तीको अन्त्य हुनुपर्ने बताए । चित्त नबुझेको कुरा कार्यकर्ताले नेतालाई अगाडी आएर भन्न सक्नुपर्ने बताउँदै नेता राठौंरले भने, ‘मैले बोलेको कुरा गलत छ भने भन्नुुस्, त्यसलाई म समिक्षा गरेर जान तयार छु, मैले गरेको काम गलत छ भने भन्नुस्, त्यसलाई म सुधार गरेर जान तयार छु, तर तपाईहरु सुध्रिने कि नसुध्रिने ?’
सह-महामन्त्री राठौंरले ६० वर्षदेखी आफु बाँके जिल्लाको बासिन्दा भएको भन्दै बर्दियाबाट चुनाव लड्ने तयारी गरेको भन्नेमा टिका टिप्पणी नगर्न कार्यकर्तालाई आग्रह गरे । ‘सुशिल दाई र मेरो एउटै क्षेत्र भएको हुनाले मात्र म बर्दिया गएको हुँ, २०६२ सालदेखी मैले बर्दियामा जिरोबाट राजनीति सुरु गरेको हुँ,’ म यहाँ आउछु कि आउँदैन भन्ने बहसको विषय नबनाउनुस्, म बाँकेबाट चुनाव लड्ने विषयमा तपाईहरुसँग सल्लाह गर्नेछु ।’
अर्को प्रसंगमा उनले नेपाली कांग्रेस बाँकेको निर्वाचनमा सर्वसम्मत गर्न आग्रह गरे । ‘सर्वसम्मत अधिवेशन होस्, कोरोना आएको छ, सबै मिलेर कार्यसमिति बनाएर गयौं भने सबै साथीहरुको आवश्यकता छ,’ सभापति लड्ने साथीहरु उपसभापतिमा बस्न मान्नु हुदैन, म सर्वसम्मतको पक्षमा छु,’ उनले भने ‘सर्वसम्मत होस् भन्ने मेरो चाहना छ, सर्वसम्मत भएन भने निर्वाचन त हुन्छ, तर तपाईहरु नेताहरुले सकेसम्म सर्वसम्मत गर्नुभयो भने पार्टीलाई राम्रो हुन्छ ।’
यस्तै केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले कांग्रेसकै नेतृत्वमा अहिलेसम्म धेरै विकास निर्माण भएको बताए । तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाका कारण बाँके जिल्लाले मुहार फेरेको र एडिबीको अर्बौ बजेट जिल्लामा भित्रिएको जिकिर गरे । भेरी अस्पताललाई कलेजका रुपमा विकास गर्न कांग्रेसले नै अगाडी बढाएको बताए । कुनै सांसद र मन्त्रीका कारण भेरी अस्पतालको स्तरोन्नती नभएको उनको भनाई छ ।
अर्का केन्द्रिय सदस्य जुबेदा खातुनले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सबै अग्रसर हुनुपर्ने बताइन् । ‘नेपाली कांगे्रेसले अहिले ठुलो अवसर पाएको छ, यो अवसरलाई कांग्रेसले गुमाउनु हुदैन,’ उनले भनिन् ‘यो अवसरलाई कांगे्रसले शक्तीमा बदल्नुपर्छ, शक्ती भनेको नै हामीबीचको एकता हो ।’
कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई कांग्रेस बाँकेका पुर्वसभापति एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार युवराज शर्मा, पुर्वसभापति एवम् पुर्वमन्त्री गजेन्द्र हमाल, जिल्ला उपसभापति सुनिलनरसिंह राणा, संविधान सभा सदस्यद्धय बादशाह कुर्मी र आशा बि.क, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ, कांग्रेस महाधिवेशन प्रतिनिधीहरु निरञ्जनसिंह सिजापति, राजकुमार बर्मा र नारायणप्रसाद गौडेल, कांग्रेस नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष निजामुद्धिन अन्सारी, शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादव लगायतले पनि सम्बोधन गरेका थिए । नेपाली कांग्रेस प्रदेश सभा-२ ‘क’ का सभापति ज्ञानेन्द्रकुमार चौधरीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव सुनिलसिंह हमालले गरेका थिए ।
भिडियो हेर्नुस् :