नेपालगन्ज : बाँकेका थारु अगुवाले एकै ठाउँमा आफ्नो महान पर्व माघी र नयाँ वर्ष मनाएका छन् । थारु समुदायको नयाँ वर्ष २६४५ र माघी पर्वको अवसरमा शुभकामना आदान-प्रदान गर्दै मनाइएको हो । थारु कल्याणकारिणी सभा नेपालगन्जसहित थारु सम्वद्ध विभिन्न संस्थाको संयुक्त आयोजना तथा राप्ती सोनारी गाउँपालिकाको सहकार्यमा बिहीबार नेपालगन्जमा उक्त कार्यक्रम गरिएको हो ।
थारु समुदायले हरेक वर्ष माघ १ गतेको दिनलाई नयाँ वर्ष र माघी पर्वलाई विशेष हर्षोल्लासका साथ मनाउने गर्छन् । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले हरेक समुदायको जस्तै थारु समुदायको पनि कला, संस्कृती संरक्षण हुन जरुरी रहेको बताए । राप्ती सोनारी गाउँपालिकाले थारु लगायत सबै समुदायलाई समान रुपले सहयोग गर्दै आएको जानकारी दिए ।
प्रत्येक नागरिकलाई शिक्षासँगै आर्थिक विकासमा जोड्न जरुरी रहेको बताए । थारु समुदायको उत्थानका लागि थारु आयोग गठन भएपनि त्यसले प्रभावकारी रुपले काम गर्न नसकेको बताए । ‘थारु आयोग त गठन भएको छ, आयोगमा पदाधिकारी छन्, तर आयोगले जुन काम गर्नुपर्ने हो, त्यो गर्न सकेको छैन,’ उनले भने ।
विशिष्ट अतिथी एवम् थारु आयोगका सदस्य सुवोधसिंह थारुले थारु समुदाय जनसंख्याको हिसाबले चौथो नम्बरमा रहेपनि अन्य समुदाय जतिको पनि अधिकार नपाएको बताए । ‘थारुको हरेक तहमा उपस्थित हुनुपर्छ, यो संबिधानमै ब्यवस्था छ, तरपनि थारु जातीको प्रतिनिधित्व हुन सकेको छैन,’ उनले भने ।
थारु कल्याणकारिणी सभा नेपालगन्जका अध्यक्ष बासमती थारुको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथी एवम् थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारु, सभाका पुर्वकेन्द्रिय सदस्य एवम बाँके जिल्ला अदालत बारका पुर्वअध्यक्ष अधिवक्ता केवलसिंह थारु, थारु तथा आदीवासी कर्मचारी संघका अध्यक्ष जितबहादुर चौधरी, थारु महिला सभा बाँकेका अध्यक्ष ललिता चौधरी, थारु कल्याण कारिणी सभाका बाँकेका पुर्वअध्यक्ष मंगलप्रसाद थारु, रोटरी क्लब नेपालगन्जका अध्यक्ष पुर्ण चौधरी, थारु कल्याणकारिणी सभा बाँकेका संरक्षक जागेश्वरप्रसाद चौधरी लगायतले पनि शुभकामना मन्तब्य राखेका थिए ।
सो कार्यक्रममा थारु समुदायको उत्थानमा योगदान पुर्याए वापत अधिवक्ता केवलसिंह थारु, पत्रकार महासंघ बाँकेका निर्वतमान अध्यक्ष ठाकुरसिंह थारु लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा थारु समुदायका परिकार खानुका साथै थारु नृत्य प्रस्तुत पनि गरिएको थियो ।
भिडियो हेर्नुस् :