नेपालगन्ज : बाघको आक्रमणबाट मृत्यु भएका ब्यक्तिका परिवारलाई डिभिजन वन कार्यालय बाँके र वन तथा वातावरण संरक्षण समन्वय समिति बाँकेले राहत रकम प्रदान गरेका छन् । बाघले आक्रमण गर्दा राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले शुक्रबार मृतकको घरमै पुगेर प्रति परिवार ५० हजारको दरले चेक हस्तान्तरण गरेका हुन् । सो क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत गणेश खड्का लगायतको उपस्थिती रहेको थियो ।
पीडितसँग प्रदेश सरकार अन्तरगत ‘मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरण कार्यक्रममार्फत दुबै पीडित परिवारलाई ५०/५० हजार हस्तान्तरण गरिएको प्रमुख कँडेलले जानकारी दिए । ‘मृतकका परिवारलाई हामीले ५०/५० हजारको चेक हस्तान्तरण गरेका छौं, यो प्रदेश सरकारको सहयोग हो,’ उनले भने ‘प्रक्रिया पुरा गरेर संघीय सरकारले पनि १० लाखसम्म रकम दिन्छ ।’
यस्तै वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी बाँकेले पनि फत्तेपुरका पीडित परिवारलाई किरिया खर्च स्वरुप १० हजार प्रदान गरेको छ । समन्वय समितिका अध्यक्ष लवराज खरेलले शुक्रबार उक्त रकम हस्तान्तरण गरेका हुन् । समन्वय समितिको कार्यक्षेत्र अन्तरगत पर्ने सामुदायिक वनको उपभोक्ता मृतक चाँदनीका परिवारलाई किरिया खर्च प्रदान गरिएको खरेलले जानकारी दिए ।
यसअघि राप्ती सोनारी गाउँपालिकाले पनि बाघको आक्रमणबाट ज्यान गुमाएका लिला र चाँदनीको परिवारलाई किरिया खर्च उपलब्ध गराएको थियो । गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीले मृतकका घरमै पुगेर किरिया खर्च वापत २०÷२० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
यो पनि पढ्नुस् :
जंगलमा छाडिएको आहारा खानै आएन पाटेबाघ