नेपालगन्ज : नेपालगन्जमा स्थापना गरिएको ‘एभियसन म्युजियम’ शनिबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । बिद्यार्थीलाई हवाई सम्बन्धी विविध जानकारी दिन र आन्तरिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यले म्युजियम स्थापना गरिएको हो ।
कस्मिक एयरको पुरानो जहाजलाई म्युजियममा परिणत गरिएको छ । उक्त जहाजभित्र २ सय ५० भन्दा बढी मोडेलका साना जहाजहरु पनि प्रर्दशनीका लागि राखिएको छ । म्युजियम शनिबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । म्युजियमका परिकल्पनाकार एवम् सञ्चालक क्याप्टेन बेद उप्रेतीका अनुसार एक करोड ८० लाख रुपैयाँ लागतमा स्थापना गरिएको हो ।
उनले भने, ‘यो एकदमै नयाँ अवधारणा हो, बिद्यार्थीलाई मोटिभेशन गर्नु हो, यो देखेपछि बिद्यार्थीलाई भित्रैबाट पढ्ने जाँगर चल्ने, एउटा सपना बोकेर बिद्यार्थी यहाँबाट फर्किन्छन् र अरु ब्यक्तिका लागि यो पर्यटकिय स्थल हो, यहाँ आएर धेरै कुरा थाहा पाउन सक्नु हुन्छ ।’ यसअघि उक्त म्युजियम सुदुरपश्चिमको धनगढीमा सञ्चालनमा रहेको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएर म्युजियम स्थापना गर्न पहल थालेपछि यहाँ ल्याइएको उनले जानकारी दिए । म्युजियमभित्र पश्चिम नेपाल र एभरेष्ट क्षेत्रका ३० वटा उत्कृष्ट तस्बिर पनि राखिएको बताए । उप्रेतीले भने, ‘यो एजुकेशनल सेन्टर हो, बिद्यार्थीले जहाजको विषयमा हरेक जानकारी लिन पाउँछन्, पाइलटको पोशाक लगाएर ककपिटमा र एयर होस्टेजको पोशाक लगाएर फोटो पनि खिच्न सक्छन् ।’ म्युजियम परिसरलाई पनि सजावट गर्ने काम पनि चलिरहेको छ ।
‘बेद उप्रेती ट्रस्ट’ ले ४ सय ४० जना अट्ने क्षमताको काठमाडौंस्थित सिनामंगल र सुदुरपश्चिमको महेन्द्रनगरमा पनि एभियसन म्युजियम सञ्चालन गरिरहेको जनाएको छ । धनगढीमै फरक खालको म्युजियम निकट भविष्यमा स्थापना गर्ने योजना रहेको पनि उनले सुनाए ।
एभियसन म्युजियम सञ्चालन गर्नका लागि नेपालगन्ज उपमहानगरपालिका र ट्रस्ट बीच हाल १० वर्षको सम्झौता भएको छ । नेपालगन्ज १२ बेलासपुरस्थित उपमहानगरपालिकाको करिव ६ कठ्ठा जमिनमा उक्त म्युजियम स्थापना गरिएको हो । ट्रस्टले म्युजियम सञ्चालन गरे वापत उपमहानगरपालिकालाई केही रकम समेत दिने सम्झौता भएको उप्रेतीले सुनाए ।
वडा नम्बर १२ का वडाअध्यक्ष बुद्धिसागर सुवेदीले नेपालगन्ज उपमहानगरपालिकाले पर्यटकीय क्षेत्रको विकासमा जोड दिइरहेका बेला र बालमैत्री वडा बनाउन लागिरहेका बेला यो म्युजियम सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनका साथै बालबालिकामा थप टेवा पुग्ने विश्वास गरेका छन् । उनले भने, ‘पढ्ने उमेरका बच्चालाई जहाजको विषयमा धेरै नै कौतुहलता जागेको हुन्छ, त्यसकारण बच्चाले प्रत्यक्ष हेरेर बुझ्न पाउँछन् ।’
यो पनि पढ्नुस् :
एक करोड ८० लाख रुपैयाँ लागतमा नेपालगन्जमा ‘एभियसन म्युजियम’
भिडियो हेर्नुस् :