नेपालगन्ज : माघी थारु समुदायको महान पर्व हो । यो पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा पनि मनाउने चलन छ । पश्चिम नेपालका थारु बस्तीमा माघीको रौनक बेग्लै छ ।
उक्त समुदायले शनिबार स्नान, दान, एवम खानपिन र रमाइलो गरेर माघी पर्व मनाइ रहेका छन् । ठाउँ-ठाउँमा शुभकामना आदानप्रदान गरेर थारु समुदायले माघी पर्व मनाईरहेका हुन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।
माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् ।
यस दिनदेखि ५ दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्ने चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा ६ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ, त्यो असफल हुँदैन भन्ने विश्वास यस समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।
यस पर्वका अवसरमा महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने आदि सबै पदवीको माघीकै दिन लोकतान्त्रिक विधिबाट निर्वाचन हुने गर्छ । तर, पछिल्लो समयमा कमैया र कम्लरी बस्ने प्रथा हटिसकेको छ । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनौट गर्छन् ।
सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ। थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ । विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ ।
थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँ सराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ ।
यो पनि पढ्नुस् :
बाँकेका थारु अगुवा मिलेर एकै ठाउँमा मनाए माघी र नयाँ वर्ष- (भिडियो सहित)