नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले स्वर्गीय सूर्यनाथ गौतम स्वास्थ्य(मुटु) पत्रकारिता पुरस्कार कोष स्थापना गरेको छ । महासंघ बाँके शाखाका पूर्व सभापति समेत रहेका पत्रकार नीरज गौतमका बुवा स्वर्गीय सूर्यनाथ गौतमको नाममा स्वास्थ्य (मुटु)पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।
स्वर्गीय सूर्यनाथकी धर्मपत्नी सुशीला गौतमले सोमबार महासंघको सभाहलमा आयोजित कार्यक्रममा कोष स्थापना गर्दै नगद एक लाख महासंघ अध्यक्ष दामोदर भण्डारीलाई प्रदान गरिन् । सूर्यनाथको मुटु रोगकै कारण निधन भएपछि श्रीमानको स्मृतिमा कोष स्थापना गरिएको सुशीलाले जानकारी दिइन् ।
उक्त कोषको संरक्षकमा सूर्यनाथका छोरा नीरजलाई राखिएको छ । कार्यक्रममा बोल्दै कोषका संरक्षक एवम् पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष गौतमले बुवाको स्मृतीमा समाजमा केही गर्न सक्छौं भन्दै यस्तो प्रयास गरिएको बताए । ‘हामीले स्वास्थ्यका क्षेत्रमा थुप्रै कलम चलाएका छौं, तर मुटु सम्बन्धी समाचार कमै मात्रामा लेखेका छौं, बिट अनुसार समाचार लेखन गर्न नसक्नुले पनि मुटु सम्बन्धि समस्याको बारेमा समाजलाई सुसुचित गर्न नसकेको हौं,’ उनले भने ।
उक्त कार्यक्रममा बोल्दै महासंघ बाँकेका अध्यक्ष भण्डारीले प्राप्त अक्षय कोषको रकम मुद्धती खातामा राखिने जानकारी दिए । ‘यसबाट आउने ब्याजलाई पुरस्कारको रुपमा प्रदान गरिने छ,’ भण्डारीले भने । कोष स्थापना गर्न महासंघलाई छनोट गरेको प्रति धन्यबाद दिदै भण्डारीले भने, ‘आगामी दिनमा कोषको रकममा पनि बृद्धि गर्न आग्रह गर्छु ।’ निकट भविष्यमा महासंघले पाँच लाखको अक्षय कोष स्थापना गरेर ५० हजार रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार प्रदान गर्ने जनाए ।
कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई, लुम्बिनी प्रदेश सदस्य मो. आरिफ अन्सारी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष समिरमान श्रेष्ठ, प्रेस सेन्टरका केन्द्रिय सदस्य सिराज खान लगायतले बोलेका थिए ।