बुटवल : सत्तारुढ पाँच दलीय गठबन्धनले लुम्बिनीबाट राष्ट्रियसभा निर्वाचन सहजै जित्ने दाबी गरेको छ । उक्त गठबन्धनले सोमबार बुुटवलमा पत्रकार सम्मेलन गर्दै आफ्ना उम्मेदवारको जित निश्चित भएको दावी गरेको हो । राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारले अंक गणितका हिसाबले पनि सहजै जित हुने नेताहरुको ठोकुवा छ ।
लोकतन्त्र, संविधानको रक्षा, राजनीतिक स्थिरताका लागि कानुनी र संवैधानिक रक्षाका लागि गठबन्धन बनेको उनीहरुले प्रष्ट्याए । उक्त निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)की राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा(राजेश) प्रतिस्पर्धामा उत्रिएका छन् ।
पत्रकार सम्मेलनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जनाले आफूहरुले जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाए । कांग्रेस बाँकेका पुर्वसभापति शर्माले बीपीबाट प्रभावित भएर राजनीति सुरु गरेको भन्दै २०३० सालमा कांग्रेस बाँकेको सचिव भएको बताए ।
पाल्पाकी राजेन्द्रलक्ष्मीले २०३६ सालदेखि राजनीतिमा लागेर अहिले पार्टीले आफ्नो योगदानको मूूल्यांकन गरेको बताइन् । अर्का उम्मेदवार विश्वकर्माले आफ्नो उम्मेदवारी सामाजिक विभेद अन्त्य र सामाजिक न्याय स्थापित गर्नका लागि भएको बताए ।
तीनै जना उम्मेदवारले गठबन्धनका सबै दलमा रहेकाहरुबाट मत पाउने आशा राखेका छन् । कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन, नेकपा माओवादी केन्द्रका नेता सुर्दशन बराल, नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपाल लुम्बिनीका अध्यक्ष अशोककुमार यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष बोमबहादुर खत्रीले विज्ञप्तिमार्फत प्रदेशसभा सदस्य, पालिकाका प्रमुख-उपप्रमुखलाई आफ्नो मत दिएर गठबन्धनलाई जिताउन अपिल गरेका छन् ।
गठबन्धनले आफूहरुसँग एक हजारभन्दा बढी मत अन्तर रहेकाले सजिलै जित्ने दाबी गरेको छ । लुम्बिनीमा सत्तारुढ गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० देखिन्छ, भने एमालेको कुल मतभार ३ हजार ३ सय १२ मतभार रहेको छ ।
लुम्बिनीमा रिक्त ३ पदका लागि माघ १२ गते दाङमा निर्वाचन हुनेछ। लुम्बिनीमा प्रदेशसभाका ८१ र पालिकाका प्रमुख, उप-प्रमुख २ सय १५ जना गरी २ सय ९६ जना कुल मतदाता छन्। यसमध्ये लुम्बिनीमा सत्तारुढ गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० देखिन्छ भने एमालेको कुल मतभार ३ हजार ३ सय १२ मतभार देखिन्छ।
यो पनि पढ्नुस् :
‘विपीको ब्यक्तित्व र विचारबाट प्रभावित भई कांग्रेसको निष्ठावान कार्यकर्ता बनेको हुँ’- (भिडियो संवाद)
राष्ट्रियसभा निर्वाचनको टिकट पाउने शर्माको यस्तो छ राजनीतिक उतार-चढाप