काठमाडौं : सत्तारुढ गठबन्धनका दलहरु आउँदो बैशाखमा स्थानीय तह निर्वाचन गर्न सहमत भएका छन । स्थानीय तह निर्वाचनलाई लिएर गठबन्धनभित्र मतभिन्नता बढेको चर्चा भइरहेका बेला नेताहरुले बैशाखमा निर्वाचन गर्न सहमत भएका हुन् । तर, यस विषयमा थप गृहकार्य गर्न अर्को बैठक बस्ने नेताहरूले बताएका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । बैठकमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अनुपस्थित भएका थिए । निर्वाचन छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको सञ्चारकर्मीलाई जानकारी दिए ।
‘समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने कुरामा गठबन्धनका दलहरु एकमत छन, आजको बैठक पनि राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको विजय सुनिश्चित गर्ने र समयमा नै स्थानीय तहको निर्वाचन गर्ने विषयमा नै केन्द्रित थियो,’ कार्कीले भने, ‘निर्वाचन समयमा नै सम्पन्न हुन्छ, संविधानमा व्यवस्था भए अनुसार नै स्थानीय तहको निर्वाचन गर्ने विषयमा दलहरु सहमत छन ।’
निर्वाचन आयोगसँग परामर्श भइरहेको कार्कीले बताए । आयोगसँग फेरि परामर्श गरेर संबिधानले तोकेकै समयमा चुनाव गरी संघीयतालाई मजबुत बनाउँदै अघि बढ्ने दिशामा सरकार गम्भीर रहेको उनले सुनाए । यस विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने उनले बताए । बिहीबार नै मन्त्रिपरिषद्को नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान छ ।
आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिइसकेको छ । निर्वाचन आयोगका पदाधिकारीले गत पुष ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचनको तयारी थाल्न ध्यानाकर्षण गराएका थिए ।