काठमाडौं : सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै बुधबार एपिएफले उपाधि जितेको हो ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार गरेको थियो । १ सय ५८ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सक्यो ।
पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ५४ बलमा ३ चौका २ छक्कासहित सर्वाधिक ६५ रन बनाउँदा दिलिप नाथले २३ रन जोडे । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा पुलिसले हार टार्न सकेन । एपिएफका लागि किशोर महतोले सर्वाधिक ३ विकेट लिए । आफ्नो कोटाको पूरा ४ ओभर बलिङ गरेका किशोरले १७ रन खर्चेका थिए ।
यस्तै, अविनाष बोहरा, अमरसिंह रौटेला र दिपक बोहराले १/१ विकेट लिए । एपिएफले पहिलो इनिङमा १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार पारेको थियो ।
दुवै ओपनर दोहोरो अंकमा रन बनाउन नसक्दा खराब सुरुआत गरेको एपिएफले जमेर ब्याटिङ गर्न सकेन । एपिएफका लागि अमरसिंह रौटेलाले १५ बलमा सर्वाधिक २९ रनको योगदान गरे । यस्तै, लोकेश बम १५ बलमा २७ रन जोडेर पेभेलियन फर्के ।
यसैगरी, सन्दीप जोराले २० बलमा २४ रन बनाउँदा कप्तान शरद भेसावकर १९ रनमा आउट भएका थिए । पुलिसका लागि स्पीनरद्वय सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिँदा गुल्शन झाले दुई तथा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १/१ विकेट लिए ।