काठमाडौं : तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा सुन तस्करी भइरहेको छ । सरकारले सुन तस्करी रोक्ने प्रयास गरे पनि अझै सफलता मिलेको छैन ।
सुन तस्करले खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई प्रयोग गरेर नेपालमा तस्करीको सुन पठाउने र विमानस्थलको पार्किङलटमा संकलन गरेर तस्करी गरिरहेका छन् । कोरोना संक्रमणले अवरुद्ध भएको उडान खुलेसँगै तस्करले दुबईबाट सुन पठाउन थालेका छन् ।
तस्करले खासगरी दुबईबाट नेपाल आउनेलाई केही रूपैयाँ दिने प्रलोभनमा सुन बोकाएर पठाउँछन् । अरू मुलुकबाट पनि छिटफुट मात्रामा अवैध रूपमा आइरहेको भए पनि दुबईबाट आएको सुन बढी बरामद हुने गरेको छ ।
पछिल्लो पटक शुक्रबार त्रिभुवन विमानस्थल हुँदै नेपालगन्ज र्पुयाइएको चार किलो सुन बरामद भयो । विमानस्थलको आन्तरिक ट्रमिनलबाटै सुन बाहिरिएको आशंका छ । प्रहरीका अनुसार सो सुन विदेशबाटै आएको हो । यस प्रकरणमा पक्राउ परेका व्यक्ति भरिया हुन् । विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव लक्ष्मी निरौलाका अनुसार धेरैजसो भरियामात्रै पक्राउ परेका छन ।
उनले भने, ‘प्रहरीले पक्राउ गरेको र भन्सार कार्यालयमा आएका मुद्दा हेर्ने हो भने पहिलो व्यक्ति मुख्य कारोबारी र तस्कर एकजना पनि पक्राउ परेका छैनन, पक्राउ पर्नेहरू भरियामात्रै हुन, पक्राउ परेका भरियालाई पनि कानुनबमोजिम कारबाही गर्नुपर्छ ।’ विमानस्थल कार्यालयको अभिलेखअनुसार तस्करीको सुन बोकेर आउनेबाट ५० ग्रामदेखि ११६५ ग्रामसम्म सुन बरामद हुने गरेको छ ।
विगत ९ महिनामा विमानस्थलबाट करिब १२ केजी सुन बरामद भएको छ । शुक्रबार भने त्रिभुवन विमानस्थलबाट कसरी सुन बाहिरिएर नेपालगन्ज पुग्यो भन्ने विषय भने अनुसन्धानकै पाटो रहेको उनले बताए । ‘अहिले यो अनुसन्धानको विषय बनेको छ । एसपीको नेतृत्वमा छानबिन समिति बनेको छ’, उनले भने । उनका अनुसार एसपी नान्तीराज गुरुङको संयोजकत्वमा छानबिन समिति बनाइएको छ ।
विदेशबाट आएको सुन आन्तरिक उडानमार्फत नै नेपालगन्ज पुगेपछि छानबिन समिति बनाउनुपरेको हो । उनका अनुसार पुस यतामात्रै विदेशबाट नेपाल आउँदा अवैध रूपमा सुन ल्याएका ३७ जनालाई विमानस्थल प्रहरीले पक्राउ गरेको छ । त्यसमध्ये दुई महिला पनि छन् ।