दाङ : लुम्बिनी प्रदेशमा बुधबार हुन लागेको राष्ट्रियसभा निर्वाचनको तयारी पूरा भएको छ । आयोगले उक्त प्रदेशमा तीन सदस्य पदका लागि निर्वाचन गराउँदैछ ।
लुम्बिनी प्रदेशको राजधानी दाङस्थित घोराहीमा निर्वाचनको सबै तयारी पूरा भएको, कोरोना संक्रमणको सर्तकता अपनाइएको र संक्रमित मतदातालाई पनि अलग्गै मतदानको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । फागुन २० गतेदेखि राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिने भएका कारण माघ १२ गते सबै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन गर्न लागिएको हो ।
निर्वाचनमा तीन पदका लागि ६ जनाबीच प्रतिस्पर्धा हुदैछ । गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार छन् भने एमाले एक्लै चुनावी मैदानमा रहेको छ । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेस, जनमोर्चा र एकीकृत समाजवादीका एकएक जनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस बाँकेका पुर्वसभापति युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार छन् ।
खुलाबाट शर्मा, महिलाबाट गैरे र दलितबाट विश्वकर्माले उम्मेदवारी दिएका हुन् । एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल (उपाध्याय) र गुल्मीका कृष्ण सुनार उम्मेदवार छन् । निर्वाचन कार्यालयका अनुसार लुम्बिनीमा प्रदेशसभा सदस्य ८१ र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ जना गरी २ सय ९६ मतदाता छन् । अहिले राष्ट्रिय सभाको मतभार ७ हजार ७ सय ५८ रहेको छ ।
निर्वाचित जनप्रतिनिधिले नै मतदान गर्ने भएको र लुम्बिनीमा गठबन्धन धेरै बलियो भएकाले गठबन्धनका उम्मेदवारले चुनाव जित्ने निश्चित जस्तै छ । केही समयअघि भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि यहाँबाट अहिलेको गठबन्धनका उम्मेदवार विजय भएका थिए ।
लुम्बिनीमा राष्ट्रियसभाको निर्वाचनमा भाग लिन पाउने ३०५ मतदातामध्ये नौजना मतदाता रिक्त अवस्थामा छ । प्रदेशका ८७ प्रदेश सभा सदस्यबाट घटेर ८१ जना र २ सय १८ मतदाता रहेको स्थानीय तहबाट २ सय १५ जनाले मत दिनेछन् ।
स्थानीय तहमा एमालेका ८८ प्रमुख, उपप्रमुख छन् । कांग्रेसले ११ नगरपालिकामा मेयर जितेको छ, भने उपमेयर १० स्थानमा जितेको छ । गाउँपालिकामा अध्यक्ष २७ स्थानमा जितेको छ, भने उपाध्यक्ष ३० स्थानमा जितेको छ । त्यसअनुसार कांग्रेसका प्रमुख र उप–प्रमुख र अध्यक्ष र उपाध्यक्ष गरी ६३ मतदाता छन् ।
माओवादी केन्द्रका ३६ प्रमुख उप–प्रमुख छन । एकीकृत समाजवादीका चारजना प्रमुख, उपप्रमुख छन । जसपाका १३ प्रमुख, उपप्रमुख छन । जनमोर्चामा पाँच प्रमुख, उपप्रमुख छन । राप्रपाका दुई र स्वतन्त्र चार प्रमुख, उपप्रमुख छन । प्रदेश सभा सदस्यमा एमालेका ३६, कांग्रेसका १९, माओवादीका १९, जसपाका चार, राजमोको एक, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक जना छन । प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख, उपप्रमुखको १८ मतभार रहेको छ ।