नेपालगन्ज : बाँके जिल्लाको जनसंख्या ६ लाख नाघेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार बाँकेको कुल जनसंख्या ६ लाख ३ हजार ३ सय ९३ पुगेको हो ।
१० वर्ष अघि गरिएको जनगणनामा बाँकेकोे जनसंख्या ४ लाख ९१ हजार तीन सय १३ रहेको थियो । जनसंख्या बृद्धिदरमा बाँके चौथो नम्बरमा छ । जिल्लाको वार्षिक जनसंख्या बृद्धिदर १.९७ रहेको छ । सबैभन्दा बढी जनसंख्या बृद्धिदर भने भक्तपुरको छ । भक्तपुरको वार्षिक जनसंख्या बृद्धिदर ३.३२ छ । त्यसपछि रुपन्देहीको २.३ र चितवनको २.१ रहेको छ । यस्तै उक्त तथ्यांकले बाँकेमा महिला भन्दा पुरुषको संख्या बढी पाइएको छ ।
बाँकेमा कुल पुरुष २ लाख ९५ हजार १ सय १२ जना रहेका छन, भने महिला ३ लाख ८ हजार २ सय ८१ जना रहेका छन् । यो पुरुषभन्दा महिला १३ हजार एक सय ६९ ले बढी हुन आउँछ । यस्तै जिल्लाको लैंगिक अनुपात ९५.७३ छ । केन्द्रिय तथ्यांक विभागका अनुसार बाँकेमा कुल एक लाख १० हजार १३५ घरधुरी रहेको छ ।
ती घरधुरीमा एक लाख ३१ हजार ९२७ परिवार बसोबास गरिरहेका छन् । जिल्लामा परिवारको औसत आकार ४.५७ जनाको रहेको छ । अर्थात् एक घरमा ४ जनाको बसोबास रहेकोछ । जिल्लाको जनघनत्व दुई सय ५८ रहेको छ । बाँकेको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी नेपालगन्ज उप-महानगरपालिकाको जनसंख्या पाइएको छ ।
नेपालगन्जको कुल एक लाख ६६ हजार २५८ जनसंख्या रहँदा सबैभन्दा कम डुडुवा गाउँपालिका रहेको छ । जहाँ ४३ हजार ३९ जनसंख्या रहेको छ । यस्तै, कोहलपुरमा एक लाख २ सय ८९, जानकी गाउँपालिकामा ४६ हजार ५ सय ६३, नरैनापुरमा ४३ हजार ६ सय ९८ जनसंख्या रहेको छ ।
नेपालगन्जमा २६ हजार ४ सय ९१ घरधुरीमा ३५ हजार ५ सय १७ परिवार, कोहलपुरमा २१ हजार २ सय ५१ घरधुरीमा २४ हजार ३ सय ४६ परिवार, बैजनाथमा १५ हजार ४ सय ३९ मा १६७६५ परिवार, राप्ती सोनारमा १४ हजार ३ सय ८० घरधुरीमा १५ हजार ४ सय ९१ परिवार, खजुरामा १२ हजार २ सय १३ घरधुरीमा १३ हजार ८ सय ८५ परिवार बसिरहेका छन ।
यसैगरी जानकीमा ७ हजार २ सय ६३ घरधुरीमा ९ हजार १ सय २४ परिवार, नरैनापुरमा ६ हजार ९ सय ४१ घरधुरीमा ८ हजार ६ सय ८० परिवार र डुडुवामा ६ हजार १ सय ५२ घरधुरीमा ८ हजार १ सय १२ परिवार बसोबास गरिरहेका छन् ।