डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत शुक्रबारसम्म दुई हजार २ सय ७० जनालाई न्यानो सामाग्री वितरण गरेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्तासँगै वितरण गरेको हो ।
गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्मका जेष्ठ नागरिकलाई न्यानो कम्बल (ब्लान्केट), च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । शुक्रबार मात्रै ६७ जना गरि कुल दुई हजार २ सय ७० जनालाई वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए ।
गाउँपालिकाले गाउँ समुदायबाटै जेष्ठ नागरिकलाई सवारी साधन मार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगन्जका ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८।०७९ को पहिलोे त्रेमासिक साउनदेखि असोजसम्मको भत्ता वितरण भइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
उनका अनुसार बैंकबाट भत्ता बुझेर जेष्ठ नागरिकहरुलाई एक एक वटा बलान्केट र च्यवनप्राश वितरण गरि घरैसम्म पुरयाउने गरिएको छ । गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि दुई हजार सात सय २८ जनालाई कम्वल र च्यवनप्राश वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताए ।
जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्याय लगायतले सामाग्री हस्तान्तरण गरिरहेका छन् ।