नेपालगन्ज : राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य युवराज शर्मालाई नेपालगन्जमा स्वागत गरिएको छ । नेपाली कांग्रेस बाँकेले शुक्रबार पार्टी कार्यालयमा एक कार्यक्रमका बीच स्वागतसहित बधाई दिएको हो । कांग्रेस बाँकेका पुर्वसभापति शर्मा सत्तारुढ पाँच दलिय गठबन्धनका तर्फबाट लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा हालै निर्वाचित भएका थिए ।
स्वागत र सम्मान कार्यक्रममा बोल्ने अधिकांस नेताले पार्टीभित्र शर्माले निरन्तर गरेको योगदान स्वरुप अहिले राष्ट्रिय सभा जस्तो गरिमामय पद प्राप्त गरेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पार्टीले ढिलै भएपनि शर्मालाई राष्ट्रिय सभामा पुर्याएर सम्मान दिएको बताए । ‘म युवराज दाईलाई धेरै धेरै बधाई र शुभकामना दिन्छु,’ उनले भने ।
यस्तै लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले प्रजातान्त्रिक लडाईको सिंगो इतिहासको रुपमा रहेका युवराज शर्मालाई पार्टीले अहिले राष्ट्रिय सभा जस्तो पदमा पुर्याउँदा यसले एउटा राम्रो सन्देश दिएको बताए । पञ्चायत कालमा नेपाली कांग्रेसको राजनीति गर्दा शर्मा थुप्रै पटक जेल जानुका साथै भौतिक रुपमा समेत यातना पाएको स्मरण गर्दै मन्त्री हमालले अहिलेको पार्टी नेतृत्वले न्याय गरेको बताए ।
यसैगरी पुर्वमन्त्री एवम् कांग्रेस बाँकेका पुर्वसभापति गजेन्द्र हमालले पार्टीमा लामो समयसम्म राजनीति गरेर पनि कुनै अवसर नपाउँदा धेरै दुःख पाएका शर्मालाई अहिले उचित मुल्यांकन भएको बताए । ‘युवराज दाईले धेरै दुःख पाउनु भएको थियो, नेपाली कांग्रेस सत्तामा आएको यतिका वर्ष भइसक्यो, तर युवराज दाईको नाम लिने कोही थिएन,’ उनले भने ।
कसैले कसैको राजनीतिलाई समाप्त पार्न चाहेपनि त्यो समाप्त नहुने र समयले मुल्यांकन गर्ने पुर्वमन्त्री हमालले बताए । ‘हामीहरुको जाँगर, जोश र हामीहरुको एकताको बलले नै युवराज दाई राष्ट्रिय सभा सदस्य बन्न सफल हुनु भएको छ,’ उनले भने ‘जो पार्टीमा मरिमेटेर लागेको छ, उहाँहरुलाई तपाईले पनि अगाडी बढाउनु होला ।’
कांग्रेस बाँकेका सभापति किरण कोइरालाले विपी कोइरालाका अनुयायी युवराज शर्मा जस्ता ब्यक्तिको पार्टीभित्र अहिले अभाव रहेको बताइन् । ‘युवराज जीलाई सम्झिदाँखेरी मलाई कस्तो लाग्छ भने मलाई के लाग्छ भने विपीले आफ्नो समयमा आफ्ना कार्यकर्तालाई यस्तो मोटिभेसन गर्नु भएको रहेछ, अहिले मान्छे धेरै मेहेनत गर्न पनि चाहदैनन्, विपीलाई साक्षी राखेर हिडेका छन्, तर जुन निरन्तरता हुन्छ, जुन प्रतिवद्धता हुन्छ, जुन पार्टीप्रतिको लगाव हुन्छ, अब त पैसा चाहिन्छ, पद चाहिन्छ ।’ पार्टी र लोकतन्त्रप्रति निरन्तर प्रतिवद्ध भएर काम गरेका शर्मालाई कसैले पनि लान्छना लगाउन नसक्ने सभापति कोइरालाले बताइन् ।
नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य शर्माले विगतमा आफु आन्दोलन र पार्टी गतिविधीमा सक्रिय रहेपनि राष्ट्रिय सभा सदस्य भइसकेपछि अलिकति चिन्ता थपिएको बताए । ‘राष्ट्रिय सभा सदस्यको पद बोकेको छु, म अज्ञानी छु, मलाई केही थाहा छैन, आज म अलिकति चिन्तित छु,’ उनले भने ‘मैले संबिधानको अध्ययन गर्नुपर्यो, ऐन/कानुनको अध्ययन गर्नुपर्यो, मैले पद त पाए, तर मैले कसरी यसको सदुपयोग गरु, मलाई आजैदेखी टेनसन भइसकेको छु ।’
आफ्नो फरक यात्रा बल्ल सुरु भएको र यो यात्रामा पनि म सफल हुने विश्वास गरे । ‘म यो यात्रामा ठुलो नभएर असल मान्छे बनेर अगाडी बढ्नेछु, संविधानको रक्षाका लागि मैले काम गर्न सकुँ, प्रतिगमनलाई परास्त गर्न अगाडी बढ्नेछु,’ शर्माले भने ।
कार्यक्रममा नेपाली कांग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठ, संविधान सभा सदस्य आशा बि.क, लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुसाल, कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति पोषण केसी, क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ लगायतले पनि नवनिर्वाचित शर्मालाई बधाई तथा शुभकामना दिएका थिए ।
भिडियो हेर्नुस् :