नेपालगन्ज : बाँकेमा निर्माणाधिन होल्डिङ सेन्टरको आइतबार निरिक्षण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ स्थित ४ विघा ८ धुर क्षेत्रफलमा होल्डिङ सेन्टर निर्माण गर्न नेपाली सेनाले ‘श्री हनुमान कन्स्ट्रक्सन’ कम्पनीलाई जिम्मा दिएको छ ।
उक्त कम्पनीसँग २०७८ साउन २४ गते २९ करोड ३८ लाख २० हजार ८९ रुपैयाँमा ठेक्का स्वीकृत भएर काम अगाडी बढाएको हो । निर्माणाधिन उक्त होल्डिङ सेन्टरको नेपाली सेनाका उपरथी निरन्जन कुमार श्रेष्ठसहितको टोलीले निरिक्षण गरेको हो ।
सो क्रममा श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति एवम् सहायक रथी हरेन्द्र पाठक, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, श्री भैरव प्रसाद गणका गणपति (प्रमुख सेनानी) जनमतबहादुर कार्की, बाँकेका प्रहरी प्रमुख (एसपी) श्यामकृष्ण अधिकारी, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. बीरेन्द्र चन्द, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, सञ्चारकर्मी, जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रका पदाधिकारी, वडाका जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
सो क्रममा उपरथी श्रेष्ठले नेपाली सेनाले निर्माण कार्यको नेतृत्व गरेपनि सबैको समन्वय र सहकार्यबाट होल्डिङ सेन्टर निर्माणको काम सम्पन्न हुने बताए । सबै पक्षसँग आवश्यक समन्वय र सहकार्य गरी समयमा नै निर्माण सम्पन्न गर्न उनले निर्देशन पनि दिए । होल्डिङ सेन्टरको अलवा निर्माण ईलाकासम्म स्थानीय निकायबाट बाटो तथा अन्य भौतिक निर्माण र मर्मत गरेमा उचित हुने सुझाव पनि दिए ।
भारतबाट आउने कोरोना संक्रमितलाई राख्ने र त्यहाँबाट गन्तब्यमा पठाउने उद्देश्यले सरकारले होल्डिङ सेन्टर बनाउन लागेको हो । श्री नम्बर ४ बाहिनी अड्डा नेपालगन्जका बाहिनीपति (सहायक रथी) हरेन्द्र पाठकले नेपाल-भारत जमुनाहा नाकाबाट प्रवेश गर्ने यात्रुलाई गन्तब्यमा पुर्याउने, स्थानीय स्तरमा भइरहेको संक्रमणलाई रोक्ने, आइसोलेशन र अस्थायी अस्पतालको रुपमा प्रयोग गर्ने उद्देश्यले होल्डिङ सेन्टर निर्माण गरिएको बताए ।
‘बाढी, पहिरो, भुकम्प जस्ता प्राकृतिक प्रकोपका समयमा पनि भविष्यमा यो भवनलाई प्रयोग गर्न सकिन्छ,’ उनले भने । उपरथी श्रेष्ठ सहितको टोली आइतबार नै नेपाली सेनाको जहाजमार्फत धनगढी प्रस्थान गरेको नेपाली सेनाको भैरव प्रसाद गणले जनाएको छ ।