नेपालगन्ज : नेपालगन्ज नाकामा होल्डिङ सेन्टर निर्माण कार्यमा ढिलाई भएको छ । भारतबाट आउने कोरोना संक्रमितलाई राख्ने र त्यहाँबाट गन्तब्यमा पठाउने उद्देश्यले सरकारले होल्डिङ सेन्टर बनाउन लागेको हो । सरकारले नेपाली सेनालाई होल्डिङ सेन्टर निर्माण गर्ने जिम्मा दिएको थियो ।
सेनाले निर्माण कम्पनीमार्फत बनाउन सुरु गरेको होल्डिङ सेन्टरको काम अधुरै रहेको छ । अहिलेसम्म करिव ८५ प्रतिशत काम सम्पन्न भएको सेनाले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ स्थित ४ विघा ८ धुर क्षेत्रफलमा होल्डिङ सेन्टर निर्माण गर्न नेपाली सेनाले ‘श्री हनुमान कन्स्ट्रक्सन’ कम्पनीलाई जिम्मा दिएको छ ।
उक्त कम्पनीसँग २०७८ साउन २४ गते २९ करोड ३८ लाख २० हजार ८९ रुपैयाँमा ठेक्का स्वीकृत भएर काम अगाडी बढाएको हो । दुई महिनाभित्रमा अस्थायी प्रकृतीको संरचना बनाउन ठेकेदारलाई २०७८ पुस मसान्त सम्मको समय दिइएको थियो । तर, ठेकेदारले समयमा सम्पन्न गर्न नसक्दा अधुरै हुन पुगेको हो ।
नेपाली सेनाका अनुसार अहिलेसम्म होल्डिङ सेन्टरको ३७ प्रतिशत अर्थात् १० करोड ९९ लाख ६० हजार ४६ रुपैयाँ बराबरको वित्तीय प्रगति देखिन्छ । निर्माणाधिन होल्डिङ सेन्टरमा तत्कालका लागि ३ सय जनालाई मात्र ब्यवस्थापन गर्न सकिने गरी काम भएको सेनाका अधिकारीले बताएका छन् ।
निर्माणाधिन होल्डिङ सेन्टरको आइतबार निरीक्षण गर्दै नेपाली सेनाका उपरथी निरन्जनकुमार श्रेष्ठले निर्माणको काम चाडो अगाडी बढाउन ठेकेदार कम्पनीलाई निर्देशन दिए । होल्डिङ सेन्टर निर्माण गर्नका लागि सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएकाले आवश्यक पर्ने बजेट ब्यवस्थापनका लागि सरकारसँग आग्रह गरिने बताए ।
‘निर्माण कार्यका लागि आवश्यक पर्ने बजेटको समस्या हुदैन, तपाईले आफ्नो काम गर्नुस्,’ उपरथी श्रेष्ठले ठेकेदारका प्रतिनिधीलाई भने । होल्डिङ सेन्टर समयमै निर्माण गर्न तथा उक्त स्थानसम्म पुग्ने बाटो तथा अन्य भौतिक निर्माणमा स्थानीय निकायले आवश्यक सहयोग र सहाकार्य गर्नुपर्ने उनले बताए ।
ठेकेदार कम्पनीले भने बजेट अभावका कारण निर्माणको कामलाई दु्रत गतिमा अगाडी बढाउन समस्या भइरहेको जनाएको छ । ‘तीन सय बेड सञ्चालन गर्नलाई यो महिनाभित्र केही पुर्वाधार तयार हुन्छ, बाँकी काम बजेटको ब्यवस्थापन भएपछि गर्न सकिन्छ,’ कम्पनीका प्रतिनिधी भने ।
आगामी चैत महिनासम्म निर्माण कार्य गर्नका लागि ठेक्का सम्झौताको म्याद थप्ने प्रक्रिया अगाडी बढिसकेको कम्पनीले जनाएको छ । चैतभित्रमा एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य सम्पन्न गर्ने कम्पनीले प्रतिवद्धता जनाएको छ । होल्डिङ सेन्टरमा शौचालय, भान्सा लगायत पुर्वाधार निर्माण गरिदैछ ।
श्री नम्बर ४ बाहिनी अड्डा नेपालगन्जका बाहिनीपति(सहायक रथी) हरेन्द्र पाठकले नेपाल–भारत जमुनाहा नाकाबाट प्रवेश गर्ने यात्रुलाई गन्तब्यमा पुर्याउने, स्थानीय स्तरमा भइरहेको संक्रमणलाई रोक्ने, आइसोलेशन र अस्थायी अस्पतालको रुपमा प्रयोग गर्ने उद्देश्यले होल्डिङ सेन्टर निर्माण गरिएको बताए ।
‘बाढी, पहिरो, भुकम्प जस्ता प्राकृतिक प्रकोपका समयमा पनि भविष्यमा यो भवनलाई प्रयोग गर्न सकिन्छ,’ उनले भने । होल्डिङ सेन्टरसम्म पुग्नका लागि स्थानीय सडक सुधारका साथै होल्डिङ सेन्टर सञ्चालन र ब्यवस्थापन सम्बन्धी कार्यविधी पनि निर्माण गर्नुपर्ने सहायक रथी पाठक बताउँछन् ।
होल्डिङ सेन्टरको सुरक्षा ब्यवस्थापनसँगै संरक्षण र सम्वद्र्धनमा पनि ध्यान दिनुपर्ने उनको भनाई छ । भारतबाट आउने कोरोना संक्रमितलाई नेपालगन्ज उपमहानगरपालिकाले हाल बाँके बगियास्थित बाल मन्दिरको आइसोलेशनमा ब्यवस्थापन गर्दै आएको छ ।
समयमा होल्डिङ सेन्टर नबन्दा कोरोना संक्रमितको ब्यवस्थापन गर्न समस्या भइरहेको नगर उपप्रमुख उमा थापामगर बताउँछिन् । ‘जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले गर्नुपर्ने काम अहिले हामीले गरिरहेका छौं, समयमै होल्डिङ सेन्टर बनेको भए कोरोना संक्रमितलाई ब्यवस्थापन गर्न सहज हुन्थ्यो,’ उनले भनिन् ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री आगामी चैतसम्म ठेकेदारले सबै काम सम्पन्न गर्नेमा आशा जागेको बताउँछन् । ‘सबै काम सम्पन्न भएपछि बाँकेमा एक हजार बेड क्षमताको होल्डिङ सेन्टर सञ्चालन हुन्छ, अन्य ठाउँको तुलनामा यहाँको काम धेरै अगाडी छ,’ प्रजिअ खत्रीले भने ।
निर्माणकै क्रममा बीचमा केही काम थपिएका कारण ठेकेदारलाई समयमै काम सम्पन्न गर्न समस्या भएको उनले सुनाए । निर्माण कार्य सम्पन्न भइसकेपछि केन्द्रीय कोभिड–१९ ब्यवस्थापन केन्द्रले होल्डिङ सेन्टर सञ्चालन र ब्यवस्थापन गर्ने विषयमा आवश्यक निर्णय गर्ने प्रजिअ खत्री बताउँछन् । -नागरिक दैनिकबाट