नेपालगन्ज : नेपालगन्ज उपमहानगर क्षेत्रको शान्ति सुरक्षामा वडा प्रहरी कार्यालय नेपालगन्जले सक्रियता देखाएको छ । पछिल्लो समयमा वडा प्रहरी कार्यालयले धमाधम लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन थालेको छ ।
यसैक्रममा वडा प्रहरीले बिहीबार नगदसहित दुई अलग स्थानबाट ४ जना ब्राउन सुगर कारोबारीलाई रंगेहात पक्राउ गर्न सफल भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ गगनगन्जस्थित आदित्य श्रेष्ठको घरमा बिहीबार दिउँसो सवा ३ बजेतिर लागु औषध ब्राउन सुगर कारोबार भइरहेको अवस्थामा वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले पक्राउ गरेको हो ।
वडा प्रहरी इन्चार्ज एवम् प्रहरी निरीक्षक डिल्ली खड्काका अनुसार उक्त घरको कोठा खानतलासी गर्दा नेपालगन्ज ७ गगनगन्ज निवासी २८ वर्षका आदित्य श्रेष्ठको साथबाट ३० ग्राम ब्राउन सुगर जस्तो पदार्थ, तौल गर्ने तराजु र नगद १० हजार, सोही कोठामा श्रेष्ठसँगै बस्ने २६ वर्षिय अंकित श्रेष्ठ र सुर्खेत बीरेन्द्र नगर नगरपालिका ६ बस्ने ३८ वर्षीय गणेश भण्डारीको साथबाट १ लाख ३४ हजार बरामद गरिएको थियो ।
पक्राउ परेका ब्यक्ति विरुद्ध आवश्यक अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यस्तै बिहीबार नै नेपालगन्जबाटै नगदसहित अर्का एक जना ब्राउन सुगर कारोबारीलाई पनि वडा प्रहरी कार्यायले नियन्त्रणमा लिएको छ ।
बिहीबार दिउँसो २ बजेतिर नेपालगन्ज ७ गगनगन्जबाट २४ वर्षीय शुभम मानन्धरलाई पक्राउ गरिएको हो । मानन्धरले आफ्नो घरमा लागु औषध ब्राउन सुगर ल्याएर बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खान तलासी गर्दा सुत्ने कोठामा ९ वटा पुडिया बनाई राखेको ६ ग्राम ब्राउनसुगर जस्तो पदार्थ बरामद गरिएको हो ।
उनको साथबाट तौल गर्ने तराजु, नगद १८ हजार ३ सय र प्लाष्टिकको रोलसहित फेला पारेर नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाइएको जिप्रका बाँकेले जनाएको छ ।