नेपालगन्ज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले स्थानीय तहको निर्वाचनका लागि पार्टीले चाडै प्रशिक्षण चलाउने तयारी गरेको बताएका छन् ।
निर्वाचनका लागि कार्यकर्ताहरु अब मानसिक रुपमा तयार हुनुपर्ने बेला आइसकेको र निर्वाचनलाई लक्षित गरेर पार्टीले वडादेखी क्षेत्र र जिल्लासम्म प्रशिक्षण चलाउन लागेको जानकारी दिए ।
‘पूर्ण रुपमा हामी स्थानीय निर्वाचन जित्छौं, उत्साह छ, विगतका दिनमा एमालेले जित्दा जसरी भ्रष्टाचार मौलाएको छ, ति कुरालाई जनताको अगाडी लिएर जान्छौं,’ दूरसञ्चार डटकमसँगको विशेष कुराकानीमा उनले भने । यसपाली जनताको घरदैलोमा पुगेर कांग्रेसलाई मत दिन आग्रह गरिने बताए ।
निर्वाचनमा कांग्रेस एक्लै लड्ने वा गठबन्धन बनाएर जाने भन्नेमा अहिले पार्टीभित्र कुनै छलफल नभएको पनि बताए । ‘किनभने नेपाली कांग्रेसको केन्द्रदेखी वडासम्मको संगठन छ, तर देशकाल, के परिस्थती आउँछ, त्यसरी जान्छ, देशलाई विकासमय बनाउनुपर्नेछ,’ उनले भने ‘हाम्रो केन्द्रमा कुनैपनि किसिमको छलफलको विषय भएको छैन, अहिले नै बोल्न उचित हुदैन ।’
अर्को प्रसङ्गमा उनले एमसीसी नेपाललाई आवश्यक एउटा प्रोजेक्ट मात्र भएको बताए । एमसीसी भित्रको वास्तविकता एउटा भएपनि यसलाई अनावश्यक रुपमा बहसको विषय बनाइएको केन्द्रीय सदस्य बाल्मिकी बताउँछन् । ‘एमसीसीको सम्झौता पत्रको मस्यौदामा सेना ल्याउने भनेर कतै लेखिएको छैन, बाहिर चोक चौराहा वा चिया पसलमा बहस गर्नुभन्दा एमसीसी बिधेयक दर्ता भइसकेको छ, त्यो विधेयकलाई संसदमा टेबुल गरिदिनुपर्छ सभामुख ज्युले र त्यसमा बहस चलाउनुपर्छ,’ उनले भने ‘संसदले बहसै गर्न नपाउने भन्ने कस्तो लोकतन्त्र हो ?’
संसदभित्र जनताबाट चुनिएका सांसदहरु रहेको र एमसीसी गलत छ भने संसदबाटै फेल गरेर पठाइदिनुपर्ने उनको धारणा छ । ‘संसद छ, संसदमा यो टेबुल गरिदिनुपर्छ, कुनैपनि बिधेयक संविधान त संसदीय नियमावली अनुसार टेबुल गर्नैपर्छ, तर यो किन भइराखेको छैन, रहस्यमय कुरा छ,’ संविधान सभा सदस्य बाल्मिकीले भने ‘फेल गर्नुछ भने संसदबाटै फेल गरौं, पास गर्ने भए संसदबाट पास गरौं, मलाई लाग्छ एमसीसी पास हुन्छ ।’
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमसीसीलाई संसदभित्र बहसमा लैजाने उनले विश्वास ब्यक्त गरे । तर, एमसीसीकै कारण सत्तारुढ पाँच दलिय गठबन्धन यति चाडै नटुट्ने कांग्रेस केन्द्रीय सदस्य बाल्मिकीले दाबी गरेका छन् ।
भिडियो हेर्नुस् :