नेपालगन्ज : कोरोना संक्रमणको तेस्रो लहर चलिरहँदा बाँकेमा अस्पताल भन्दा होम आइसोलेसनमा बस्ने संक्रमितहरु धेरै रहेका छन् । कोरोना संक्रमितको उपचार गर्न अहिले नेपालगन्जस्थित भेरी अस्पताललाई तोकिएको छ । दिनहुँ संक्रमितको संख्या थपिरहँदा पनि अस्पतालमा संक्रमितको चाप कम देखिन्छ ।
जिल्ला कोभिड-१९ ब्यवस्थापन केन्द्रका अनुसार बिहीबारसम्म बाँकेमा ६ सय २९ जना होम आइसोलेशन बसेका छन् । अस्पताल तथा आइसोलेसन सेन्टरमा भने ४८ जना मात्र संक्रमितले उपचार गराइरहेका छन् । त्यसमध्ये भेरी अस्पतालमा मात्रै ३६ जनाको उपचार भइरहेको छ । भेरी अस्पताल बाहेक नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा पनि संक्रमितलाई राख्ने गरिएको छ ।
भेरी अस्पतालको कोभिड वार्ड इन्चार्ज एवम् नर्सिङ अधिकृत मौनता अर्यालका अनुसार बिहीबार बेलुकासम्म हल ‘ए’ मा ९ र हल ‘बि’ मा २७ जनाले उपचार गराइरहेका छन् । अस्पतालमा संक्रमित बिरामीहरु दिनहुँ भर्ना हुने र डिस्चार्ज हुने क्रम चलिरहेको उनी बताउँछिन् ।
‘कोरोना संक्रमितको संख्या बृद्धि भएसँगै अस्पतालमा संक्रमितहरु आउने क्रम चलेको छ, तर डिस्चार्ज हुने संख्या पनि त्यतिकै छ,’ नर्सिङ अधिकृत अर्यालले भनिन् । कोरोना महामारीको दोस्रो चरणको जस्तो बिरामीमा कडा लक्षण नदेखिएको सुनाइन् । तेस्रो लहरका कोरोना संक्रमित बिरामीलाई अक्सिजन त्यति आवश्यक नपरेको उनको भनाई छ ।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डा. बिरेन्द्र चन्द पनि अस्पतालमा कोरोना संक्रमित बिरामी भर्ना हुने र डिस्चार्ज हुने क्रम चलिरहेको बताउँछन् । ‘अस्पतालमा बिरामीको चाप पहिलेको भन्दा केही बढेको त छ, तर सबै संक्रमितहरु अस्पतालमा आउँदैनन्, स्वास्थ्यमा समस्या भएका बिरामी मात्र आउने गरेका छन्,’ उनले भने ।
केन्द्रका अनुसार बिहीवार बाँकेमा ४४ जना नयाँ संक्रमित फेला परेका छन् । पीसीआर परिक्षणबाट ३२ र एन्टिजेन परीक्षण गर्दा १२ जना गरी ४४ जनामा संक्रमण पुष्टी भएको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनका अनुसार भेरी अस्पतालको प्रयोगशालाबाट ११ जना, नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालाबाट १५ र बागेश्वरी ल्याबबाट ६ जनालाई संक्रमण पुष्टी भएको हो ।
नेपाल-भारत सिमानाका जुमनाहास्थित हेल्थ डेस्कमा एन्टिजेन परिक्षण गर्दा १२ जनामा संक्रमण पुष्टी भएको छ । नयाँ संक्रमित भएका मध्ये बाँकेका मात्रै १४ जना रहेका छन् । अहिलेसम्म बाँकेमा कुल १९ हजार ७ सय ५५ संक्रमित भएका छन् ।
यसैगरी बाँकेमा बिहीबार मात्रै ८६ जना संक्रमित डिस्चार्ज भएर घर फर्केका छन् । केन्द्रका अनुसार अहिलेसम्म बाँकेमा १९ हजार ४७ जना संक्रमित डिस्चार्ज भइसकेका छन् । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ६ सय ५१ रहेको छ । यि मध्ये दुई जना संक्रमित सिकिस्त छन् ।