नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिकाले गरेका 'गलत क्रियाकलाप' को नेपाली कांग्रेसले खबरदारी गरेको छ । कांग्रेस बैजनाथ गाउँपालिकाको अगुवाईमा मंगलबार ध्यानाकर्षण पत्र बुझाउँदै खबरदारी गरिएको हो ।
गत असोजमा वर्षातका कारण बैजनाथमा रहेका किसानको अन्नबालीमा भएको क्षतिका सम्बन्धमा स्थानीय सरकारले स्थलगत लगत लिएर पनि राहतका लागि सम्बन्धित निकायमा लगत नबुझाएको भनी सञ्चार माध्यममा प्रकाशित समाचारका बारेमा स्पष्ट पार्न कांग्रेसले माग गरेको छ ।
यस्तै अव्यवस्थित बसोबास तथा भूमिहिनको लगत संकलन गरिएको र लगत लिदाँ स्थानीय नागरिकसँग रकम समेत असुल गरिएको, लगत बुझाउन राष्ट्रिय भूमी आयोगले गत असोज ३१ गते र गत कात्तिक ११ गते सूचना जारी गर्दा समेत गाउँपालिकाले सम्बन्धित निकायमा लगत नबुझाएको भनि प्रकाशित समाचारका विषयमा जवाफ मागेको छ ।
यसैगरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बैजनाथ गाउँपालिकामा रहेका शिक्षक कर्मचारीको दरबन्दी मिलान, सरुवा लगायतका कार्य गर्दा कार्यविधी निर्माण गरि विधिसम्मत गर्नुपर्ने पेशागत संघ संगठनसँग समेत समन्वय नगरी आफु अनुकुल गरिएको कांग्रेसको आरोप छ ।
विकास निर्माणमा र बिद्यालय ब्यवस्थापन समितिका सम्बन्धमा अवधी सकिएकालाई समेत कानुन विपरित पुर्वाग्रही ढंगले काम गर्न दिएको पाइएको भन्दै कांग्रेसले ध्यानाकर्षण पत्रमार्फत आपत्ती जनाएको छ । गाउँपालिकाभित्र रहेका किसानका लागि मल, बीउ बिजन सर्वसुलभ र सहज रूपमा वितरणका सम्बन्धमा स्थानीय सरकारको भुमिकाप्रति कांग्रेसले प्रश्न समेत उठाएको छ ।
मन्त्री परिषदले स्थानीयको निर्वाचन मिति घोषणा गरिसकेको हुँदा पनि गाउँपालिकाबाट हुने दैनिक प्रशासनिक कामकाज बाहेक अन्य दीर्घकालीन प्रभाव पार्ने खालका कुनैपनि ऐन कानून कार्यबिधी निर्माण नगर्न कांग्रेसले आग्रह पनि गरेको छ ।
कांग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसीले मंगलबार उक्त ध्यानाकर्षण पत्र गाउँपालिका अध्यक्ष मानबहादुर रुचाललाई बुझाएका हुन् । गाउँपालिकामा गर्नुपर्ने काम नभएको र गर्न नहुने काम गाउँपालिकाले गरेको भन्दै कांग्रेसले चेतावनी समेत दिएको छ ।
ध्यानाकर्षण पत्र बुझाउने क्रममा कांग्रेस बाँकेका सचिव कपीलदेव शर्मा, महाधिवेशन प्रतिनिधी मेघराज ओली, देवबहादुर खत्री, चन्तराम थारु, प्रकाशबहादुर शाही, टेकबहादुर खड्का, निर्मला रोकाया, क्षेत्रीय सचिव ज्ञानबहादुर ओली, प्रदेश सभा ‘क’ का सचिव धिरेन्द्रसिंह ठकुरी, क्षेत्रीय सह-सचिव डम्बर रावत, क्षेत्रीय प्रतिनिधि भगन थारु लगायतको उपस्थिती रहेको थियो ।
यस्तो छ, नेपाली कांग्रेस बैजनाथ गाउँपालिकाले बुझाएको ध्यानाकर्षण पत्र :