नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बाँकेमा हुन लागेको निर्वाचनमा कांग्रेस नेतृ कमला पोखरेलले जिल्ला सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् । कांग्रेस बाँकेको निर्वाचन यही फागुन १३ गते हुदैछ ।
उक्त निर्वाचनका लागि जिल्ला सदस्य(महिला)मा उम्मेदवारी दर्ता गर्ने तयारीसँगै नेतृ कमलाको चर्चा सुरु भएको छ ।
पार्टीको राजनीतिमा सक्रिय रहँदै आएकी उनलाई नेता, कार्यकर्ताले हौसला दिइरहेका छन् । ‘जिल्ला सदस्य पदमा उम्मेदवारी दिने तयारीमा छु, मलाई धेरै जनाले हौसला दिइरहनु भएको छ, पार्टीका सबै नेता र कार्यकर्ताको हौसला नै मेरो जित्ने आधार हो,’ कमलाले भनिन् ।
बिद्यार्थी जीवनदेखी नै राजनीतिमा होमिएकी उनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ को स्थानीय बासिन्दा हुन् । नेतृ कमलाले नेपाली कांग्रेस वडा नम्बर १८ बुथ समितिको सचिव भएर काम गरिसकेकी छन् । २०७४ सालको स्थानीय निर्वाचनमा वडा नम्बर १८ को वडा सदस्य पदमा लडेपनि थोरै मतले पराजित भएकी थिइन् ।
आफ्नो परिवार नै कांग्रेसको राजनीतिमा रहेकाले आफुलाई पनि राजनीतिको नसाले छोएको उनी बताउँछिन् । पार्टीको राजनीतिसँगै उनी सामाजिक काममा पनि उत्तिकै क्रियाशिल छिन् । भ्रष्टाचार विरुद्ध क्रियाशिल प्रोपब्लिक र बागेश्वरी असल शासन क्लब(बास)मा समेत काम गरेको अनुभव उनीसँग छ ।
जनता र कार्यकर्ताको सेवा गर्नका लागि राजनीतिमा लागेको बताइन् । कांग्रेसको जिल्ला सदस्यमा निर्वाचित भएपछि पार्टीको संगठन बिस्तार र कार्यकर्ताको काममा समय खर्चिने उनको योजना छ । ‘यसपटक निर्वाचनमा मलाई क्षेत्रीय प्रतिनिधी ज्युहरुले जिल्ला सदस्यको जिम्मेवारीमा पुर्याउनु हुनेछ भन्नेमा आशावादी छु,’ उनले भनिन् ‘जिम्मेवारी पाएपछि मैले पार्टीको काम समय खर्चिनेछु ।’