नेपालगन्ज : पटक-पटक स्थगित हुदै आएको नेपाली कांग्रेस बाँकेको निर्वाचन नजिकिदै गर्दा युवा नेता अृमतकुमार आचार्यको सक्रियता बढेको छ । कांग्रेस बाँकेको निर्वाचन यही फागुन १३ गते हुदैछ । उक्त निर्वाचनमा अपांगताबाट जिल्ला सदस्य पदमा उनले उम्मेदवारी दिदैछन् ।
कांग्रेसका अन्य नेताहरु जस्तै उनी पनि यतिबेला भोट माग्न ब्यस्त छन् । ‘पार्टी कार्यालयदेखी सम्भव भएसम्म मतदाताकै घरमा पुगेर पनि सहयोग माग्ने काम गरिरहेको छु, धेरैले मलाई जिताउने आश्वासन दिनु भएको छ,’ उनले दूरसञ्चार डटकमसँग भने ।
झ्वाट्ट हेर्दा सामान्य ब्यक्ति जस्तै लाग्ने आचार्य दृष्टिबिहिन हुन् । तर, कांग्रेसको राजनीतिमा उनको सक्रियता कम छैन । शारिरीक रुपमा अशक्त भएपनि पार्टीको राजनीतिमा सशक्त छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ निवासी आचार्यको दैनिकी अचेल कांग्रेस पार्टी कार्यालयदेखी कार्यकर्ताको घरदैलो, चोक तथा चिया पसलमा बित्ने गरेको छ । उनी राम्ररी देख्न सक्दैनन, तर आफै हिडडुल गर्न सक्छन् ।
निर्वाचनले उनलाई बेस्सरी छोएको छ । आसन्न निर्वाचनबाट कुशल नेतृत्व चयन गर्न मात्र नभएर स्वयं आफु पनि जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित हुने कशरतमा छन् । शारिरीक अशक्तताले गर्दा चाहेर पनि धेरैजसो क्षेत्रीय प्रतिनिधीलाई उनले भेट्न सकेका छैनन । तर, पार्टी कार्यालयमा पुग्ने प्रायः नेता, कार्यकर्तालाई भेट्छन, उनी ।
‘पार्टीको चुनावले बेस्सरी छोएको छ, सकभर सबैलाई भेट्ने प्रयास गरिरहेको छु र सहयोग गर्न आग्रह गरिरहेको छु, यो निर्वाचनमा मैले जिल्ला कार्यसमिति सदस्यमा उम्मेदवारी दिदैछु,’ उनले भने ‘सबै कांग्रेस नेता कार्यकर्ताले मलाई अवश्य पनि सहयोग गर्नु हुनेछ भन्नेमा विश्वस्त छु ।’ नेपाल बिद्यार्थी संघ हुँदै नेपाली कांग्रेसमा उनको योगदान धेरै छ । उनी शहिदका छोरा पनि हुन् ।
सबैसँग सहजै घुलमिल हुने र सबैलाई समान ब्यवहार गर्ने उनको स्वभाव छ । त्यसकारण उनी सबैका नजरमा प्रिय छन । २०६२ सालमा नेपाल बिद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस दाङको ईकाई सभापति समेत भइसकेका आचार्य राजनीतिसँगै पढाईमा पनि उत्तिकै तेजिला छन् । उनले अंग्रेजी विषयमा स्नातकोत्तर पुरा गरेका छन् ।
दाङको भमके निवासी उनका बुवा अनन्तकुमार आचार्यलाई तत्कालिन सशस्त्र द्धन्द्धका क्रममा माओवादीले हत्या गरेको थियो । बुवाको हत्यापछि उनको परिवार त्यहाँबाट विस्थापित भएर नेपालगन्ज आएको हो । बुवाको सपना पुरा गर्नका लागि भएपनि आफु कांग्रेस राजनीतिमा होमिएको उनी बताउँछन । ‘नेपाली कांग्रेस भएकै कारण बुवाको हत्या भयो, बुवाको सपना पुरा गर्नकै लागि भएपनि म नेपाली कांग्रेसको राजनीतिमा लाग्दैछु,’ उनले भने ।
आफु जिल्ला सदस्यमा निर्वाचित भएपछि पार्टी कार्यकर्ताले दिएको जिम्मेवारी र बुवाको सपना इमान्दारी पुर्वक पुरा गर्ने आचार्य बताउँछन् । ‘पार्टीका लागि म पनि केही गरौं भनेर जिल्ला कार्यसमितिमा आउन खोजेको हुँ, मलाई अवश्य पनि मतदाताहरुले जिम्मेवारी दिनु हुनेछ भन्नेमा पूर्ण रुपले आशावादी छु,’ उनले भने ।
यो पनि पढ्नुस् :
शहिदका ‘दृष्टिबिहिन’ छोरा अमृतकुमार होमिदैं कांग्रेस निर्वाचनमा