नेपालगन्ज : पछिल्लो समयमा छारे रोग (मिर्गी) का विरामी बढ्दो क्रममा रहेको यसक्षेत्रका विज्ञले बताएका छन् । छारे रोग सम्बन्धी साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै 'नेपालगन्ज न्युरो ट्रमा तथा मल्टिस्पेस्यालिटी सेन्टर' का न्यूरो सर्जन डा. जोशन न्यौपानेले पछिल्लो समयमा छारे रोगबाट पीडितको संख्यामा बृद्धि भइरहेको बताए ।
उनले करिव ५ देखी ७ सय जना बिरामी आफ्नो नियमित फ्लोअपमा रहेको जानकारी दिए । आफ्नो ओपिडीमा दैनिक ४ देखी ५ जना छारे रोग सम्बन्धी समस्या भएका बिरामी आउने गरेको डा. न्यौपानेले बताए ।
यो रोग एक ब्यक्तिबाट अर्को ब्यक्तीमा नसर्ने उनी बताउँछन् । तर, गाउँ समाजमा छारे रोगप्रति फरक बुझाई भएको न्यौपानेले सुनाए । ‘छारे रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्दैन, जुठो खाएर पनि सर्दैन,’ उनले भने ‘विभिन्न कारणबाट यो रोग मानिसमा देखिने गर्छ ।’
डा. न्यौपानेका अनुसार कसैलाई सागपात तथा फलफुलमा रहेका किरा तथा जीवाणु टाउकोमा पुगेर छारेरोग हुन सक्छ । कतिपयलाई विभिन्न घटना र दुर्घटनाबाट टाउकोमा रगत जमेर पनि छारे रोग हुन सक्छ । यस्तै कतिपय अवस्थामा लामो समयसम्म प्रशव ब्यथाले च्यापेर महिलाबाट जन्मेको त्यस्ता शिशुलाई छारे रोग हुन सक्ने डा. न्यौपाने बताउँछन् ।
कुनै अवस्थामा उच्च रक्तचापका भएका, ब्रेन टयुमर सम्बन्धी समस्या भएका ब्यक्ति र साना बच्चालाई १ सय ३ डिग्री भन्दा माथी ज्वरो आएपछि पनि छारे रोग हुने उनले सुनाए । छारेरोगबाट बच्न औषधी सेवन गर्नु नै उत्तम उपाय भएको बताए ।
छारेरोग निको पार्न कतिपयले धामी झाँक्री कहाँ देखाउने गरेको भन्दै डा. न्यौपानेले समयमै विशेषज्ञ चिकित्सकलाई जचाएर रोग नियन्त्रण गर्न सकिने बताए । कुनै बिरामीले औषधी खाएर रोग नियन्त्रण गर्न सक्ने र कुनै अवस्थामा औषधी खाएर निको पनि हुने प्रष्ट्याए ।