नेपालगन्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बाँकेमा हुन लागेको जिल्ला निर्वाचनका आकांक्षीले उम्मेदवारी घोषणा गरिरहेका छन् । यसैक्रममा कांग्रेस नेतृ एवम् दलित अधिकारकर्मी सुशिला नेपाली (बादी) ले पनि जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन् । नेतृ सुशिलाले एक अपिल मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।
उम्मेदवारी घोषणासँगै उनी प्रचार-प्रसारमा पनि ब्यस्त भएकी छिन् । यही फागुन १३ गते हुन लागेको निर्वाचनमा आफुलाई निर्वाचित गराउन कांग्रेस नेता, कार्यकर्तालाई भेटघाट गरिरहेकी छन् । 'चुनावमा सहयोग गर्न सबैलाई अनुरोध गरिरहेकी छु, आशा एवम् विश्वास छ, मलाई सबैले आफ्नो अमुल्य मत दिएर विजयी गराउनु हुनेछ,' सुशिलाले भनिन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ निवासी उनी पार्टीको राजनीतिसँगै दलित अधिकारको क्षेत्रमा सक्रिय रहदै आएकी छन् । २०६१ सालबाट दाङ हुदै बाँकेमा पार्टीको राजनीति गर्न थालेकी हुन् । ‘मैले संगठन निर्माणको लागि होस्, पार्टीलाई मजबुद बनाउनको लागि आफ्नो जागिरको कुनै प्रवाह नगरी पार्टीको झण्डा बोकेर निरन्तर रुपमा खटिएको कुरा सबैमा अवगत गराउँदछु,’ उनले भनिन् ।
नेतृ सुशिला २०७४ सालको स्थानीय निर्वाचनमा पार्टीबाट टिकट पाएर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ बाट दलित महिला सदस्यमा उम्मेदवार बनेकी थिइन् । उनी वडा स्तरिय दलित संघको सभापति हुदै नगर दलित संघ सदस्य, दलित संघ बाँके जिल्ला सदस्य हुदै हाल दलित संघको केन्द्रीय महाधिवेशन प्रतिनिधी छिन् ।
यस्तै उनी नेपाल महिला संघ बाँकेको सदस्य पनि हुन् । बादी समुदायको अभियान्ताको रुपमा रहेकी उनसँग थुप्रै संघ संस्थामा काम गरेको अनुभव पनि छ । सुशिला चर्चित दलित महिला अधिकारकर्मी पनि हुन् । आसन्न नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा जिल्ला सदस्यको रुपमा आफुले उम्मेदवारी दिने र अमुल्य मत दिएर विजयी गराउन उनले अनुरोध गरेकी छन् ।
यस्तो छ अपिल :