नेपालगन्ज : कांग्रेसका एक जुझारु युवा नेताका रुपमा चिनिन्छन्, विनोद थारु । नेपाली कांग्रेसले गर्ने हरेक आन्दोलन होस् या कार्यक्रममा अनिवार्य उपस्थित हुन्छन् । थारु समुदायको प्रतिनिधित्व गर्दै उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिएका छन् ।
आफुसँगै पढेका साथीहरु जागिरमा रमाइरहेका छन्, तर विनोद भने जनताको सेवा गर्नका लागि पार्टी राजनीतिमा सक्रिय छन् । उनको सक्रियताले अन्य युवाहरुलाई पनि उत्साहित बनाउने गर्छ । नेपाली कांग्रेस बाँकेको आसन्न निर्वाचनका लागि विनोदले जिल्ला सह-सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । यही फागुन १३ गते कांग्रेस बाँकेको निर्वाचन हुदैछ ।
बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ७ पेडारी निवासी उनलाई संस्थापन (देउवा) पक्षबाट सह-सचिव पदमा उम्मेदवारी दिन थुप्रै नेता, कार्यकर्ताले सुझाव दिइरहेका छन् । ‘मलाई धेरै अग्रजहरुले जिल्ला सह-सचिव पदमा उम्मेदवारी दिन सुझाव दिनु भएको छ, यसले मलाई उर्जा दिइरहेको छ,’ उनले भने ।
विनोद २०५५ सालमा पाटन संयुक्त क्याम्पसमा तराई विद्यार्थी परिवार र नेपाल विद्यार्थी संघको सदस्य भएका थिए । २०५९ मा त्रि-चन्द्र क्याम्पस काठमाडौंमा नेपाल विद्यार्थी संघको क्याम्पस इकाई समिति सदस्य भए । २०६२/०६३ सालको १९ दिने जनआन्दोलनमा नेविसंघ त्रि-चन्द्र क्याम्पसका तर्फबाट आन्दोलनमा सहभागी भएर दुई पटक गिरफ्तारीमा परेका थिए ।
नेपाली कांग्रेसबाट अलग भएर विजयकुमार गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिक निकट युवा फोरमको २०६८ मा जिल्ला सह-सचिव भएका थिए । यस्तै २०७० सालमा फोरम लोकतान्त्रिक बाँकेको जिल्ला सह-सचिव भएर काम गरे । नेपाली कांग्रेस र तत्कालिन फोरम लोकतान्त्रिकबीच पार्टी समायोजन भएपछि २०७६ मंसिरमा सम्पन्न कांग्रेस महासमिति बैठकपछि युवा नेता विनोद महासमिति सदस्यमा मनोनित भएका थिए ।
२०७५ सालमा कांग्रेस जिल्ला कार्यसमिति सदस्यमा उनी मनोनित भएका थिए । तत्कालिन सशस्त्र द्धन्द्धका क्रममा उनले नेकपा माओबादीबाट दुःख पाएका थिए । पार्टीको राजनीतिसँगै सामाजिक अभियानमा पनि उनको त्यतिकै योगदान रहेको छ ।
२०५७ सालमा मुक्त कमैयाहरुको बालबालिकाहरुका लागि शिक्षाको अभियान सुरु गरेका थिए । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले कमैया मुक्ती घोषणा गरेपछि मुक्त कमैया पुर्नस्थापना अभियानमा सहभागी भएका थिए । उनी २०६८ सालमा थारु कल्याणकारिणी सभा बाँकेको जिल्ला सदस्य भए ।
विनोद २०७४ सालमा थारू कल्याणकारिणी सभा बाँकेको सभापतिमा निर्वाचित भएका थिए । २०७२ सालमा स्थानीय तह पुर्नसंरचनाका क्रममा बैजनाथ गाउँपालिका नामाकरण गर्दा संयोजक भएर प्रमुख भुमिका निभाएका थिए ।
‘पार्टीको निर्वाचन नजिक आउँदै गर्दा मैले पनि आफ्नो उम्मेदवारीलाई स्वभाविक रुपमा लिएको छु,’ उनले भने ‘म निर्वाचित भएपछि पार्टीलाई एकतावद्ध गराउँदै संगठन निर्माणमा लाग्नेछु, हरेक कार्यकर्ताको दुःख र पीडालाई बुझेर काम गर्नेछु ।’