नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-२ घरबारी टोलमा प्राविधिक विद्यालय निर्माण गरिने भएको छ । वडा कार्यालयले प्राविधिक भवन निर्माण स्थलमा बुधबार भूमी पुजा गरेको छ । सिग्नेट होटलको पछाडीपट्टि रहेको सरकारी ५ कठ्ठा २ धुर जमिनमा उक्त प्राविधिक विद्यालय निर्माणको थालनि गरिएको हो ।
वडा कार्यालयको सक्रियताले आगामी पाँच वर्षभित्र प्राविधिक विद्यालय निर्माण गरि सञ्चालनमा ल्याउने तयारी भएको वडाअध्यक्ष सुनिलसिंह हमालले जानकारी दिए । प्राविधिक विद्यालय निर्माणका लागि गरिएको भूमि पूजामा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमालले प्राविधिक धारको विद्यालय निर्माणको सफलताको शुभकामना दिए ।
हमालले घरबारीटोल खेलकुद र शिक्षाका लागि उर्वर भूमि भएको भन्दै प्रदेश सरकारको तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाए । वडाअध्यक्ष हमालले भवन निर्माण गर्न सम्पूर्ण प्रक्रिया पुरा भइसकेको र छिट्टै डिपिआर तयार पारेर निर्माण कार्य अघि बढाइने बताए । उनका अनुसार करिव साढे दुई करोड रुपैयाँको लागतमा प्राविधिक विद्यालय निर्माण गरिनेछ ।
सो क्रममा कांग्रेस प्रदेश सभा-२ 'ख' का सभापति जितेन्द्रबहादुर हमाल, नेपाली कांग्रेस वडा नम्बर २ का बुध सभापति प्रदीप श्रेष्ठ, वडा नम्बर २ का सदस्यद्वय धु्रब दाहाल र आशा बिष्ट, नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रध्यानाध्यापक ललिता उपाध्याय, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमादेवी उपाध्याय, विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्षहरु सुरेन्द्रनाथ सापकोटा, केशबहादुर हमाल, सिद्धिकुमार महर्जन, समाजसेवी ललितकुमार रौनियार लगायतको उपस्थिती रहेको थियो ।