काठमाडौं : एमसिसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्रैबाट प्रधानमन्त्री शेरबहादुर देउवा घेराबन्दीमा परेका छन् । सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको घेराबन्दीमा प्रधानमन्त्री परेका हुन् ।
एमसिसीबारे सरकारमा रहेका दलहरूबीच फरक फरक धारणा सार्वजनिक मात्रै भएका छैनन्, गठबन्धन दलकै नेता–कार्यकर्ता सडक आन्दोलनमा उत्रिएका छन् । प्रतिनिधिसभामा बुधबार एमसिसी सम्झौता पेस गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले सहमति बिना अघि बढे गठबन्धन टुट्ने धम्की दिएपछि त्यसबाट पछि हटेका छन् ।
‘विगतदेखि नै माओवादी र नेकपा एकिकृत समाजवादीको धारणा स्पष्ट छ । संशोधनबिना एमसिसी सदनमा पेस गर्नुहुँदैन । ‘गठबन्धन दलहरूबीच सहमति नगरी प्रधानमन्त्री एक्लै अघि बढ्न खोज्नुभयो, प्रधानमन्त्री एक्लै अघि बढ्नु भनेको गठबन्धन टुट्नु नै हो,’ माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने ।
माओवादी संसदीय दलको बुधबार बसेको बैठकले एमसिसी सम्झौता संशोधनबिना सदनमा पेस गर्न नहुने र प्रधानमन्त्री एक्लै अघि बढे सरकार छाड्ने निर्णय गरेको छ । संसदीय दलको निर्णय बोकेर अध्यक्ष दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
दाहालले एमालेले सदनमा गरेको अवरोध हटाउनुपर्ने, एमसिसीमा संशोधन र राष्ट्रिय सहमति गर्नुपर्ने प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनले प्रधानमन्त्री एक्लै अघि बढ्न खोजे आफ्नो दल सरकारबाट हट्ने जानकारी पनि गराएका थिए । सत्ता गठबन्धन टुट्ने सम्भावना बढ्दै गएपछि थप छलफलका लागि प्रधानमन्त्री देउवाले बिहीबारका लागि गठबन्धनको बैठक बोलाएका छन् ।
गठबन्धन दलका नेताहरूले एमसिसीका विषयमा एकदुई दिन अघि नबढ्न आग्रह गरेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। कांग्रेस सकेसम्म माओवादी र नेकपा एकिकृत समाजवादीको समर्थनमा एमसिसी पास गर्न चाहन्छ । एमसिसीबारे अध्यक्ष दाहालको भूमिका दोहोरो भएको भन्दै माओवादीभित्रै प्रश्न उठाउन थालिएको छ । सरकारमा पनि बस्ने र सरकारकै कदमविरुद्ध सडकमा पनि उत्रिने द्वैध चरित्र माओवादीले देखाएको छ । -नागरिक दैनिकबाट