नेपालगन्ज : बाँकेसहित १६ जिल्लाको कांग्रेस अधिवेशन फेरि सरेको छ । यही फागुन १३ गते बाँकेसहित १६ जिल्लाको अधिवेशन तोकिएको थियो । उक्त अधिवेशन २ दिन पछाडी सारिएको हो ।
अधिवेशन अब फागुन १५ गते गर्ने निर्णय भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र पार्टी नेतृत्वबाट अनुरोध भई आए बमोजिम जिल्ला अधिवेशनको कार्यतालिका र मिति संशोधन गरिएको जनाएको छ ।
बाँकेसहित अछाम, कैलाली, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र नवलपुरको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।
निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार उल्लेखित १६ जिल्ला बाहेक अन्य जिल्लामा निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका निर्वाचन निर्धारित फागुन १० गतेभित्रै हुनेछन् ।