काठमाडौं : प्रतिनिधिसभामा अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुने वा नहुने अवस्था बारे अझै अन्योल नै देखिएको छ । शुक्रबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल गर्ने सरकारले चाहिरहेको छ ।
तर, सत्तारुढ गठबन्धनबीच एमसिसी अघि बढाउने विषयमा सहमति नजुटेपछि सरकारले संसदमा एमसीसी लैजाने हो वा हैन यसबारे गठबन्धनको शुक्रबार बिहान बस्ने बैठक पछिसम्म कुर्नुपर्ने देखिन्छ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
बिहान १० बजे बोलाइएको गठबन्धनको बैठकपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी गरिएको हो । बिहीबार रातिसम्म चलेको गठबन्धनको बैठकमा सहमति नभए पछि सभामुखले सम्भावित कार्यसूचीमा आदिवासी जनजातिको प्रतिवेदन पेश गर्ने विषय कार्यसूचीमा राखेका छन् ।
गठबन्धनमा रहेका मुख्य गरी माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीचको एमसिसीमा असहमति भएपछि बुधबारको संसद्मा एमसिसी टेबुल गर्नबाट प्रधानमन्त्री देउवा पछि हटेका थिए ।
यता प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबार पनि आफ्नो धारणा स्पष्ट गरेको छैन । प्रधानमन्त्री ओलीलाई भेटन गएका कांग्रेस नेता डा. मिनेन्द्र रिजालसँग पनि एमाले अ्रध्यक्ष ओलीले आफ्नो भित्री कुरा बताएका थिएनन् । एमसिसीबारे आफ्नो धारणा स्पष्ट नगर्नुको पछाडि एमालेले सरकार ढलाउनै खोजेको देखिएको स्रोतको दाबी छ ।
सरकारमा फेरि पनि आफ्नै नेतृत्वमा जान खोजेको एमालेले एमसिसी कै कारण गठबन्धन टुटाउन खोजिरहेको आरोप लगाउन थालिएको छ । कतिपय एमाले नेताले ओलीनिवास बालकोटमा पुगेर आफूलाई मन्त्री बनाइदिन भन्नसमेत भ्याइसकेको एमालेकै नेताहरू बताउँछन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको यस्तो रणनीतिबारे जानकारी आएको भन्दै यसलाई असफल तुल्याउनुपर्ने कुरा प्रधानमन्त्री देउवासमक्ष गठबन्धनको बैठकमा राखेका छन् ।
एमसिसीकै कारण गठबन्धन टुट्न हुँदैन भन्ने कुरामा दाहाल र नेपालले जोडदार रूपमा दबाव दिएको स्रोतको दाबी छ । गठबन्धन जोगाएर एमसिसीलाई कसरी निर्णयमा लैजाने विषयमा विभिन्न विकल्प अघि सारिएको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जोड अझै पनि एमसिसी निर्वाचनपछि धकेल्ने कुराको पक्षमा देखिएको छ । -नागरिक दैनिकबाट